कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असारे धानको न्युनतम समर्थन मूल्य सिफारिस गरेको छ। मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको हो।
गत वर्षहरूमा बाली भित्र्याउने बेलामा मन्त्रालयले सर्मथन मूल्य तोक्ने गरेको थियो। बाली लगाउनु पूर्व नै समर्थन मूल्य तोकिदिँदा किसानलाई बाली लगाउन सहज हुने मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए।
उनका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २७ सय ३५ रूपैयाँ र मध्यम खालको धान मूल्य प्रतिक्वीन्टल २८ सय ८५ रुपैयाँ तोकेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा पठाइएको छ।
‘किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च र मुनाफाको आधारमा मूल्य सिफारिस गरिएको हो,’ उनले भने।
उनका अनुसार उद्योग मन्त्रालयमार्फत क्याविनेटमा गएर धानको समर्थन मूल्य स्वीकृत हुन्छ। ‘हामीले प्राविधिक प्रतिवेदन सहित उद्योग मन्त्रालयमा पठाएका छौं, मन्त्रालयले क्याविनेटमा पठाउँछ र क्याविनेटले स्वीकृत गर्छ।
चालू आर्थिक वर्षमा सरकारले मोटा धान प्रतिक्वीन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो।