विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको असर सबैभन्दा बढी कृषि क्षेत्रमा देखिएको छ। कोरोना महामारीका कारण बर्खेबालिका लागि रासायनिक मल ल्याउन सकिएको छैन।
कृषि सामाग्री तथा साल्ट ट्रेडिङले ग्लोबल टेण्डरमार्फत ल्याउन लागिएको २५ हजार टन मल कलकत्तामा आएर बसेको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले बताए।
‘हामीले ल्याउन लागेको मल कोभिडका कारण कलकत्तामै अड्किएर बसेको छ,’ उनले भने, ‘लेबर नपाएर प्याकिङ गर्न पनि सकिएको छैन।’
लेबरको समस्या र रेलबाट मल ल्याउन नसकेपछि १ सय ५० टन मल ५ वटा ट्रकमा पठाइएको थियो तर उक्त ट्रक अहिलेसम्म पनि विराटनगर नआइपुगेको उनले बताए।
‘बाटोमा कोरोनाका कारण क्वारेन्टाइनमै राखियो की के भयो, ६ दिनमा आइपुग्ने ट्रक १२ दिन भइसक्दा पनि आएको छैन,’ उनले भने।
मल एकदमै न्युन माैज्दात भएकाले कलकत्ताबाट ल्याउन सकिएन भने समस्या पर्ने साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए।
रासायनिक मल बिक्री वितरण गर्ने सरकारी कम्पनी साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीसँग गरेर करिब ५१ हजार मेट्रिक टन मल मौज्दात रहेको छ। उक्त परिमाणको मल १ महिनालाई पनि नपुग्ने उनी बताउँछन्।
उनकाअनुसार कर्पोरेशनसँग युरिया ७ हजार ५ सय टन, डिएपी ११ हजार ५ सय र पोटास १७ सय टन मौज्दात रहेको छ।
कृषि सामग्री कम्पनीसँग युरिया १० हजार ४० टन, डिएपी ११ हजार ६ सय टन र पोटास ३८ सय टन मौज्दात रहेको कम्पनीका सूचना अधिकारी विष्णु पोखेरेलले जानकारी दिए।
धान विज्ञ भोलामान बस्न्यातका अनुसार पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो साताबाट धान रोपाइँ सुरू हुन्छ। यस परिमाणको मलले धान लगाउन पनि नपुग्ने उनी बताउँछन्।
उनकाअनुसार उक्त परिमाणको मलले ४ लाख ६४ हजार हेक्टर क्षेत्रफलमा धान लगाउन सकिन्छ। नेपालमा करिब १४ देखि १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
धान बाहेक मकै तथा अन्य तरकारीमा पनि मलको आवश्यक पर्छ।
धान लगाएको २०/२१ दिन पछि टप ड्रेसिङ गर्नुपर्ने हुन्छ यसका लागि मल नआए किसान अप्ठ्यारो पर्ने देखिन्छ।
ओमानबाट २१ हजार ५ सय मेट्रिक टन युरिया मल ल्याउने प्रक्रिया पुरा भएपनि लकडाउनका कारण मल आउन नसकिएको कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले बताए।
लकडाउन नखुले टप ड्रेसिङका लागि भने युरिया मलको अभाव हुने उनी बताउँछन्।
‘अहिले भएको स्टक मलले धान लगाउननै मुश्किल पर्छ, लकडाउन नखुली मल ल्याउन सकिएला जस्तो छैन। लकडाउन खुलेन भने समस्या पर्छ,’ उनले भने।
गतवर्षहरूमा मल अभाव भएकोले यसवर्ष मल अभाव हुन नदिने भनेर समयमै मल ल्याउने कार्ययोजना बनाएको उनी बताउँछन्।
अन्य वर्षको तुलनमा यसवर्ष धेरै मल मौज्दात रहेको उनको भनाइ छ। चालू आवमा मलको अभाव हुन नदिन सरकारले ९ अर्ब रूपैयाँ बजेट छुट्याएको थियो।