कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सम्बद्ध निकायलाई कृषकका उत्पादन सहजरूपमा ढुवानी गराईदिन आग्रह गरेको छ।
केही स्थानमा एक जिल्लामा उत्पादन भइएको फलफूल तथा तरकारी अर्को जिल्लामा बेच्न लैजादाँ प्रहरी तथा स्थानीय निकायले जफत गरी बिक्री वितरणमा अवरोध पुर्याएको हुनाले कृषकका उत्पादन सहजरूपमा ढुवानी गराईदिन सम्बद्ध निकायलाई आग्रह गरेको हो।
यस्ता कार्यले कृषकको उपज खेर जाने मात्रै नभई कृषकहरूको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातमा भर पर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले मन्त्रालयले कृषकको उत्पादन ढुवानी तथा बिक्री वितरणमा अवरोध उत्पन्न नगराईदिन आग्रह गरेको छ।
आइतबार छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभूमिबाट अर्घाखाँचीमा तरकारी बेच्न लैजाँदा जिल्ला प्रहरीले कोरोना फैलिएको जिल्लाबाट तरकारी बेच्न ल्याएको भन्दै नष्ट गरेको थियो। यसबाट किसानको ६० हजारभन्दा बढी नोक्सान भएको छ।