कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कार्बाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ। कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेलाई कारबाहीको लागि मंगलबार कृषि मन्त्रालयले गृहलाई पत्र पठाएको मन्त्रालयलका प्रवक्ता हरि बहादुर केसीले बताए।
यसअगाडि पटक–पटक आग्रह गरिए पनि कृषि उपजको उत्पादन, ढुवानीमा अवरोध भएकाले मन्त्रालयले गृहलाई पत्र लेखेको उनी बताउँछन्।
‘हामीले पहिला पनि उत्पादन ढुवानी तथा बिक्री वितरणमा अवरोध नगर्न धेरै आग्रह गर्याै, तर एक जिल्लामा उत्पादन भएको तरकारी अर्काे जिल्लामा बेच्न लैजाँदा अवरोध पुर्याएपछि हामीले गृहलाई पत्रलेखेका हौं,’ उनले भने।
कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारबाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन आग्रह गरेको छ।
‘बन्दाबन्दीको कारणले कृषिजन्य वस्तुहरुको उत्पादन एवं ढुवानीको कार्य सुचारु हुन नसकेको तथा कतिपय स्थानीय तहहरुले देशभित्रकै अन्य स्थानबाट ढुवानी भएका कृषि तथा पशुजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामाग्रीहरु जफत गरी नष्ट गरिदिने जस्ता कार्यहरु गरेको देखिएका सहजीकरण गरीदिन अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ।
कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्ने मन्त्रालयले बताएको छ।
आइतबार कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ।
अर्घाखाँचीमा जस्तै पोखरा महानगरपालिकाले पनि अन्यत्रबाट आएको तरकारीमा रोक लगाएको छ। कर्णाली प्रदेशले त अरु ठाउँबाट सबै खाद्य वस्तु रोक लगाउने निर्णय नै गरेको छ।