संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कृषि उपजको ढुवानी र बिक्री वितरणमा सहजीकरण गरिदिन आग्रह गरेको छ।
लकडाउनको बेला देशका कतिपय स्थानीय तहमा कृषि उपजको ढुवानीमा अवरोध भएपछि मन्त्रालयले सबै तहलाई पत्रचार गर्दै अवरोध सिर्जना नगर्न आग्रह गरेको हो।
लकडाउनको कारणले कृषिजन्य वस्तुहरूको उत्पादन एवम् ढुवानीको कार्यहरू सुचारू हुन नसकेको तथा कतिपय स्थानीय तहहरूले देश भित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने एवम् ढुवानी भएका सामाग्रीहरू जफत गरी नष्ट गरिदिनाले कृषकको मनोबल खस्कने, उत्पादन घट्नसक्ने खतरा मन्त्रालयले औल्याएको छ।
'आधारभूत खाद्यवस्तुको आपूर्ति श्रृङ्खला अबरोध हुन गई खाद्य संकटको अवस्था समेत सिर्जना हुनसक्ने हुँदा कृषि उपजको सहज ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन हुन भनी अनुरोध भई आएकोले कृषि उपजको सहज ढुवानी बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्दछौं, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ।