नेपालका लागि चाहिने डिएपी मल बोकेर शनिबार कलकत्ताबाट रेल हिँडेको छ। उक्त रेल ६ दिनमा वीरगञ्ज आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडका महानिर्देशक नेत्र भण्डारीले जानकारी दिए।
रेलसँगै ट्रकबाट पनि मल आइरहेको उनले जानकारी दिए। उनका अनुसार ३ सय टन मल लिएर १० ट्रक हिडेका छन्। ट्रकबाट आएको मल आउने समय भने निश्चित छैन।
‘सामान्यतया ६ दिनमा आइपुग्थ्यो, अब अहिले धेरै ठाउँमा जाँच हुन्छ। कहिले आइपुग्छ भन्न सकिँदैन,’ उनले भने, ‘पहिलाको ५ ट्रक पनि बिचमा रोकिएर बसेको छ, सँगै आउँछ भन्ने सुनेको छु।’
उनकाअनुसार कलकत्तामा रोकिएको मल विस्तारै आएर पोर्ट खाली हुन थालेपछि चीनको पानीजहाजबाट मल आउन सुरू हुने छ।
गहुँको लागि आवश्यक मल पनि टेन्डर गरिसकेको कम्पनीले बताएको छ। उक्त मल असोजको अन्तिमतिर आइपुग्ने छ।
हाल कम्पनीमा युरिया ६ हजार २ सय, डिएपी ६ हजार ५ सय ७८ र पोटास ३ हजार ६ सय ८ मेट मल मौज्दात रहेको छ।
कम्पनीको मल आइसकेपछि साल्ट ट्रेडिङ कर्पोरेशनको मल आउन सुरू गर्ने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए।
हाल कर्पोरेशनमा युरिया ६ सय, डिएपी ९ सय र पोटास ७४ सय टन मल मौज्दात रहेको छ।
२१ हजार ५ सय युरिया मल भने गुजरातमा रोकिएर बसेको छ।