बालिनालीमा ठूलो क्षति पुर्याउने सलह अर्थात ‘डेजर्ट लोकस’ कीरा नेपाल आउने संम्भावना यो वर्षलाई टरेको छ।
सलह नेपाल आउने सम्भावनालाई लिएर गठित सलह कीरा व्यवस्थापन कार्यदलले यो कीरा भारतबाट नआउने निष्कर्ष निकाल्दै कृषि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।
कार्यदलका संयोजक सहदेव हुमागाईले भने, ‘सलहको निगरानी गर्ने संस्थासँग कुरा गर्दा उहाँहरूले यो वर्ष सलह नेपाल नआउने भन्नुभो। बाँकी प्राविधिक कुराले पनि यही देखाएको छ।’
अहिले सलहले भारतको राजस्थान र मध्यप्रदेशमा ठूलो क्षति पुर्याइरहेको छ। त्यहाँबाट विहार हुँदै नेपाल प्रवेश गर्नसक्ने अनुमान गरिएको थियो।
कार्यदलका अनुसार सलह नेपाल आउने संम्भावना टर्नेमा दुईटा कुराले महत्वपूर्ण भूमिका खेल्यो। पहिलो हावाको बहाव। किट वैज्ञानिकहरूका अनुसार सलहको स्वभाव हावा जता बग्यो उतै उड्ने हुन्छ।
त्यसैले अहिले राजस्थानमा हावाको बहाव पूर्वदेखि दक्षिणतिर मोडिएको छ। सोही अनुसार सलह मध्यप्रदेशको केही भागसम्म आइपुगेको छ।
संयोजक हुमागाईले नेपालमा अहिले जुन हिसाबले मौसम बदली भइरहेको छ त्यसले पनि सलह नेपाल आउने सम्भावना टरेको बताए।
अहिले निसर्ग चक्रवातका कारण नेपालमा मनसुन अलिकति चाँडो सुरु भएको छ। केही दिनअघि पूर्वदेखि पश्चिमसम्म पानी पर्यो।
हुमागाईं भन्छन्, ‘सलहले पानी र बादल मन पराउँदैन। गर्मी र सुख्खा मौसम रुचाउँछ। नेपालमा अब पानी पर्ने मौसम सुरु भयो। त्यसैले सलह आउने सम्भावना छैन।’
सलहको निगरानी गरिरहेको संयूक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संस्थाका अनुसार सलह अहिले भारतको राजस्थानमै घुमिरहेको छ।
केही सलह मध्यप्रदेशसम्म पुगेर फेरि राजस्थान फर्किएको छ। यो संस्थाले अफ्रिका, मध्यपूर्वका एसियाली राष्ट्र र भारतसम्म आउने सलह जस्ता कीराको निगरानी गर्छ।
सोही संस्थाले पनि सलह नेपाल आउने नसक्ने कार्यदललाई जानकारी दिएको छ।
संयोजक हुमागाईंले यो वर्ष सलह आउने सम्भावना टरेपनि अर्को वर्ष आउनसक्ने कुरालाई लिएर पूर्व तयारी गर्नुपर्ने बताए। सलह नेपाल आए यसले कृषि क्षेत्रमै ठूलो क्षति पुर्याउँछ।
राष्ट्रिय कृषि अनुसन्धान केन्द्रका किट वैज्ञानिक डा. नरेश डाँगी भन्छन्, ‘सलहले बालीको सबै भाग खाएर अस्थिपञ्जर मात्र बाँकी राख्छ।’