तुलसीपुर उपमहानगरपालिका-९ बनगैका रोशन खड्काको घरमा केही बर्ष अघिसम्म मात्रै दुई/तीन हल गोरु हुन्थे।
खेतबारी जोत्न गोरू प्रयोग हुन्थे। हलो जुवा हुन्थ्यो। तर आज उनको घरमा न हल गोरू छन् न त हलो जुवा नै सद्धे छन्।
गोरू बाँध्ने गोठ रित्तो छ।
बरू त्यही गोठमा एउटा कुनामा सानो फुच्चे ट्रयाक्टर राखिएको छ।
शिक्षकसमेत रहेका खड्कालाई वस्तु चौपाया र गोरू चराउन लैजाने, दाना, घाँस, पानी खुवाउने काम गर्न हम्मे पर्थ्यो। दिउँसो पढाउन जाने र बिहानबेलुका तिनको सुसार गर्दैमा उनका धेरै वर्ष विते।
अहिले भने उनलाई सुविस्ता भएको छ।
उनले खेतीपातीको लागि पावर टिलर (फुच्चे ट्रयाक्टर) किने। जो नचलाउँदा सम्म चुपचाप बसिरहन्छ।
‘निर्जिव वस्तु न पर्यो। सजिव गोरू जस्तो भोक, प्यास लाग्दा कराउने वा खाना माग्ने गर्दैन,’ खड्काले भने ‘फुर्सदको दिन खेतबारी जोत्छु अन्यथा यो फुच्चे ट्रयाक्टरलाई मज्जाले थन्काएर राख्छु।’
तुलसीपुरमा खड्काजस्तै अचेल धेरैले खेतबारी जोत्न पावर टिलर किनेका छन्।
जो कृषिमा प्रविधि भित्रिँदै गरेको संकेत हो।
पावर टिलर किनेर ल्याएपछि किसालने घरमा पहिले जस्तै खेतबारी जोत्न प्रयोग हुने राँगा, गोरू पाल्न छोडेका छन्। दूध र मलको लागि गाई र भैंसी पाल्ने गरे पनि गोरु/राँगा भने पाल्न छोडेका छन्।
दाङ लमही नगरपालिका-८ धनपुरूवा गाउँका ८० घर मध्ये एकाध घरमा मात्रै खेतबारी जोत्न गोरू पालिएका छन्।
४८ वर्षीय लक्ष्मीप्रसाद चौधरीका अनुसार गाउँमा झन्डै ३० वटा बढी फुच्चे ट्रयाक्टर छन्।
यहाँका किसानमध्ये दुई घरपरिवारले मात्रै दुइटा फुच्चे ट्रयाक्टर अनुदानमा प्राप्त गरेको र अन्य सबै किसानले आफैं किनेको चौधरीले बताए।
‘हाम्रो गाउँमा अब गोरू/राँगा कसैले पाल्दैनन्,’ चौधरीले भने, ‘बरू फुच्चे ट्रयाक्टर घर-घरमा छन्।’
त्यही ट्रयाक्टरले जोतेर खेतिपाती गर्ने गरिएको उनले बताए।
राप्ती नदीको किनारमा रहेको धनपुरूवा गाउँ समथर भू-भागमा छ। माटो पनि बलौटे छ। त्यसैले फुच्चे ट्रयाक्टर लैजान र जोत्न सजिलो हुने गरेको चौधरीले बताए।
‘हाम्रो गाउँमा खेती किसानी गर्ने लगगभ सबैको घरमा फुच्चे ट्रयाक्टर छन्,’ चौधरीले भने ‘नभएकाहरूले भाडामा लिएर खेतवारी जोताएर खेती गर्ने गर्छन्।’
चौधरी समुदाय मिलेर खेतीपाती गर्ने गर्छन। एक अर्कालाई सघाउँछन् । त्यसले गर्दापनि खेतीपाति गर्न सहज भएको उनले बताए।
स्थानीय किसानले दूध र मलका लागि गाई तथा भैंसी पाल्ने गरेको चौधरीले बताए।
धनपुरूवामा वर्षमा चार खेति लाग्ने गर्छ।
हाल धमाधम मकै भित्र्याउने र खेतमा धानको व्याड राख्ने काम भइरहेको छ। धान काट्नासाथ आलु वा तरकारी खेती सुरू हुन्छ ।
त्यसपछि फेरि मकै वा तरकारी खेती सुरू हुन्छ। केहीले तोरी, मसुरोजस्ता हिउँदे बाली पनि लगाउने गर्छ। यहाँका खेतबारी कुनै सिजन पनि बाँझो रहँदैन।
गोरु राँगाको भरमा मात्र बाह्रमास खेती गर्न सजिलो हुन्नथ्यो। जति ट्याक्टरले सजिलो बनाइदिएको छ।
हुन त ट्याक्टर तराईमा धेरै पहिले देखि नै चलनमा छ। पहिले-पहिले ठूलाठूला ट्रयाक्टर हुन्थे। सबैले त्यो किनेर राख्न सक्दैनथे। तर अहिलेको टिलर भने मध्यम आय भएकाहरूले सम्म किन्न सक्छन्।
पावर टिलरको मुल्य हर्षपावर अनुसार फरक–फरक हुन्छ। सात हर्ष पावरसम्मको लागि ९० हजार पर्छ भने १६ देखि १८ हर्ष पावर सम्मलाई २ लाख रुपैयाँसम्म पर्ने गर्छ।
धनपुरूवाका लक्ष्मीप्रसाद चौधरीका अनुसार उक्त गाउँमा सबैभन्दा पहिला दश वर्ष अघि जीवराज चौधरीले १ लाख ५ हजारमा पावर टिलर किनेर ल्याएका थिए। त्यसपछि राजकुमार चौधरीले पावर टिलर किनेर ल्याए। त्यसपछि लक्ष्मीप्रसादले आफै १ लाख २० हजार रुपैयाँ हालेर टिलर किने।
चौधरीका अनुसार गतवर्ष आलु खेतीका लागि सुर्खेतको एउटा प्रोजेक्टले १ लाख ९० हजारका दरले २ वटा पावर टिलर अनुदानमा प्रदान गरेको थियो। योसहित गाउँमा हाल ३० बढी पावर टिलरको संख्या पुगेको छ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले दाङमा ठ्याक्कै कहिलेदेखि पावर टिलर भित्रिए भन्ने तथ्याङ्क उपलब्ध नरहेको बताए। अलि धनिमानी किसानले अनुदानको आश नगरी आफैंले पावर टिलर र ठूला ट्रयाक्टरसमेत किनेको हुँदा त्यो एकिनका साथ भन्न मुस्किल पर्ने उनले बताए।
ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरत पोखरेलले भने २०६२/०६३ तिर नै जिल्लामा पहिलो पटक पावर टिलर भित्रिएको बताए।
विदेशवाट आधुनिक खेतीबारे सीप सिकेर आएकाहरू र अलि ठूलो मात्रामा खेतिपाती गर्नेहरूले आफैंले किनेर पावर टिलर ल्याएर खेती गर्न थालेको उनले बताए। २०६७/०६८ सालतिर एकीकृत बाली तथा जल व्यवस्थापन आयोजनाले त्यति बेलादेखि दाङमा पावर टिलर भित्र्याएर वितरण थालेको पोखरेलले जानकारी दिए।
'नेपाल भारत सीमा क्षेत्रका किसानले आफैं खरिद गरेर खेतिपातीमा व्यापक प्रयोग गरेपछि कृषि कार्यालयले पनि अनुदानमा ठूला र साना कृषि औजार अनुदानमा वितरण थालेको हो,' उनले भने।
२०७२/७३ सालतिर तत्कालिन कृषि इञ्जिनियरिङ निर्देशनालय हरिहर भवन काठमाडौंले पनि जिल्लाको कोटा अनुसार अनुदानमा कृषिका लागि ठूला र साना ट्याक्टरहरू वितरण गरेको उनले बताए।
पछिल्लो समय प्रधानमन्त्री कृषि कार्यक्रम, स्मार्ट गाउँलगायतका कार्यक्रमले पनि किसानलाई अनुदानमा पावर टिलर वितरण गरिरहेका छन्। गत वर्ष प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई अनुदानमा त्यस्ता पावर टिलर वितरण गरेको थियो।
यसरी सरकारले पनि तराईमा कृषि गर्नेहरूलाई पावर टिलर प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ।
खेतबारी गोरु र राँगाको सट्टा पावर टिलर प्रयोग गर्दा खेतबारीमा बाली बढि फल्ने त हुँदैन तर यसका फाइदा भने धेरै भएको कृषकहरू बताउँछन्।
तिनैमध्ये एक हुन्, तुलसीपुर उपमहानगरपालिका वडा-११ का ठाकुर केसी।
उनी इजरायलबाट आएको ६ वर्ष भयो। उनले आएकै वर्ष फुच्चे ट्रयाक्टर किने।
त्यसयता उनले निरन्तर खेतबारी त्यसैले जोत्दै आएका छन्। कृषिमा हलगोरु छोडेर ट्रयाक्टरले जोत्दा धेरै फल्छ भन्नु भन्दा पनि थोरै जनशक्तिले धेरै काम गर्न सकिने हुँदा त्यससरी फाइदा हुने उनले बताए।
‘हलोले जोत्नु वा ट्रयाक्टरले जोत्ने लगभग उस्तै-उस्तै हो,’ केसीले भने ‘ बढी उत्पादनका लागि मल, बिउबिजन, गोडमेल र सिचाइँ आदिको उचित व्यवस्थापन मिलाउन सक्नुपर्छ।’
गोरु तथा राँगा निश्चित समय जोतेपछि थाक्ने तथा उनीहरूको लागि घाँस र दानाको आवश्यकता पर्ने भए पनि मेसिनमा त्यो समस्या हुन्न।
‘ट्रयाक्टर भए रातमा जोत्छु भने पनि भयो, घन्टौंसम्म जोत्छु भने पनि हुन्छ,’ केसीले भने ‘ काम छिटो र सजिलो पनि हुन्छ। थोरै मानिसले धेरै काम गर्न सकिन्छ।’
उनले मलको लागि गोरु वा राँगा पाल्नुभन्दा गाई वा भैंसी पाल्दा दूध पनि पाइने बताए। २ वटा गोरूको ठाउँमा दुइटा गाई पाल्दा धेरै फाइदा हुन्छ। दूध, घ्यु बेच्न पाइने हुनाले आम्दानी बढ्छ।
मुख्य बाली धानको खेती बढीमा एक महिना गरे पुग्ने हुँदा थप ११ महिना त्यसै गोरू पाल्नु बढी खर्चिलो हुने केसीको भनाइ छ।
‘एक महिना जोतेर ११ महिना त्यत्तिकै पाल्नु पर्छ,’ केसीले थपे ‘उनीहरूलाई घाँस, दाना, पानी दिनुपर्छ त्यो त झनै खर्चिलो हुन्छ। ट्रयाक्टर भए ती सबै झमेलाबाट मुक्त भइन्छ।’
केसीका अनुसार उपकरणको प्रयोगले कृषि कर्म सजिलो हुनेमात्रै हैन आफूजस्ता युवालाई कृषिमा आकर्षित गर्न मद्दत गर्छ।
'हलो जुवा बोकेर, गोरू नारेर हलो जोत्न लाज मान्ने युवाहरू फुच्चे ट्रयाक्टरले जोत्न लालायित हुन्छन्,’ उनले भने, 'म आफैं पनि विदेशबाट आएर हलगोरू लिएर खेतमा जाने कल्पना गर्दिनथें, त्यसैले टिलर किनें।'