निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन्।
उनले सो पाखाको १५ रोपनी जग्गामा अलैँची लगाएका छन्। तीन वर्षयता उत्पादन सुरू भइसकेको छ। उनले उत्पादनको पहिलो वर्ष १५ हजार रूपैयाँ र दोस्रो वर्ष एक लाख ५० हजार रूपैयाँको अलैँची बिक्री गर्न सफल भए।
तेस्रो वर्ष (गत वर्ष) मौसम उपयुक्त नभएकाले उत्पादन कम हुँदा ५० हजार मात्र आम्दानी भएको छ।
यो वर्ष करीब दुई क्वीन्टल उत्पादन हुने उनको अनुमान छ।
‘खेती गर्ने तरिका जानेमा खेर गएका पाखो जग्गा पनि पैसा फल्ने हुँदो रहेछ, वर्षेनी पाँच सयदेखि छ सयसम्म बिरुवा थप गर्दै गइरहेको छु’, बयम्बुले भने।
बिरुवा लगाइएको एकदेखि डेढ वर्षपछि मात्रै अलैँचीको उत्पादन लिन सकिन्छ।
छ वर्षअघि इलाम भ्रमणमा गएका बेला एउटा बिरुवा ल्याएर खेती सुरू गरेका बयम्बु नै त्यस क्षेत्रमा अलैँचीको खेती सुरू गर्ने पहिलो व्यक्ति हुन्।
यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यस अगाडि कसैलाई जानकारी थिएन।
बयम्बुले लगाएको अलैँचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालेको छ।
गाउँका करीब १५० रोपनी क्षेत्रफल अलैँचीले भरिँदा गाउँको वातावरण नै हरियालीमय बनेको अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमका अध्यक्ष मानुराज खाम्चा बताउँछन्।
गाउँपालिकाको सहयोगमा यहाँका ७५ घरपरिवारले व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेका छन्। आठ रोपनीमा अलैँची खेती गरेका खाम्चाले अझै सात रोपनी जग्गामा विस्तार गर्ने योजना बनाएका छन्।
गाउँपालिकाले अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत चालु आवमा एक लाख ८७ हजार ५०० रूपैयाँ सहयोग गरेको छ। सो रकम अलैँचीको बिरुवा, प्लाष्ट्रिक स्पेयर, विषादी, अलैँची सुकाउने भट्टी र फल काट्ने कैँची खरीदमा खर्च हुनेछ।
पन्ध्र हजार अलैँचीका बिरुवा खरीद गरी कृषकलाई वितरण गर्ने कार्यक्रम रहे पनि बन्दाबन्दीले लमजुङको भोटेओडारबाट बिरुवा खरीद गरेर ल्याउन समस्या परेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताए।
‘एक वडा एक पकेट क्षेत्र कार्यक्रम अन्तरगत यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालिएको छ, खेती गर्न छाडिएका प्रशस्त पाखोबारी रहेको जग्गामा कृषकले अहिले अलैँची लगाएर हरियाली बनाएका छन्’, उनले भने।
यहाँ उत्पादित अलैँची कृषकले प्रतिकिलो ६ सय रूपैयाँमा बिक्री गरेका छन्।
अलैँची खेती सुरूवाती चरणमा भएकाले गत भदौअसोजमा यहाँका कृषक एक क्वीन्टल ५० किलो उत्पादन गरी बजारमा बिक्री गर्न सफल भएका छन्।
गाउँपालिकाले दुई सय रोपनी क्षेत्रफलमा अलैँची विस्तार गर्ने योजना बनाएको छ। यहाँ उत्पादित अलैँची नवलपरासीको अरुणखोला बजारमा खपत भएको छ। यसको बजार भारतलगायत अरब पनि हो।
जिल्लामा हाल अलैँचीको झिरुवास, खाँदर क्षेत्रमा मात्र व्यावसायिक खेती गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए। उनका अनुसार व्यावसायिक खेती गर्ने गरी कृषकबाट माग आएमा साझेदारीका कार्यक्रम सञ्चालन गरिने छ।
दुई दशक अगाडि साविक कसेनी गाउँ विकास समिति वलेसका कृषकले अलैची खेतीबाट आम्दानी गरेका थिए।
त्यस समय धेरै कृषकको आम्दानीको स्रोत नै अलैँची खेती थियो।
एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्थे। अहिले निस्दी गाउँपालिकाले पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तरगत खाँदर क्षेत्रलाई अलैँचीको व्यावसायिक रुपमा खेती गर्न सहयोग गरेपछि कृषकको आकर्षण बढ्दो छ।
अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ–डालेघाँसलगायत बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल– मलखाद– रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने कारणले कृषकले व्यावसायिक खेती गरेर मनग्य आम्दानी लिन सक्ने जनाइएको छ।
(राससका लागि सुशीला रेग्मी)