असार १५ मनाइरहँदा प्रदेश ५ मा ३४ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको छ।
प्रदेश ५ कृषि विकास निर्देशनालयका अनुसार तराईका जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सकिएको छ भने पहाडी जिल्लाहरूमा १० देखि १५ प्रतिशत मात्रै रोपाइँ भएको छ।
यसवर्ष कोरोना महामारीका कारण अरु पेशा व्यवसाय बन्द भएको मौका छोपी किसानहरू खेतीपातीमा लाग्दा रोपाइँ केही अगाडि सुरू भएको हो।
पहाडी जिल्लाका अधिकांश ठाउँहरूमा वर्षाको पानीको भेलमा रोपाइँ गर्नुपर्ने बाध्यता रहे पनि तराईमा सिँचाइ सुविधा पुगेको स्थानमा असारको सुरूआतमै रोपाइँ थालिएको थियो।
विगतका वर्षको तुलनामा यसवर्ष जेठको पहिलो सातादेखि नै वर्षा भएपछि किसानहरूले धानको बीउ राख्ने र रोपाइँ गर्ने काम समयमै सुरू गरेको प्रदेश ५ कृषि विकास निर्देशनालयका निर्देशक यमनारायण देवकोटाले जानकारी दिए।
देवकोटाका अनुसार प्रदेश ५ को कपिलवस्तुमा सबैभन्दा ५५ प्रतिशत रोपाइँ सकिएको छ।
त्यस्तै, रुपन्देही र पाल्पामा ५४ प्रतिशत रोपाइँ भएको छ भने बाँकेमा ५२, प्युठानमा ४७, बर्दियामा ४६, नवलपरासीमा ४५ प्रतिशत रोपाइँ सकिएको छ।
सबभन्दा कम गुल्मीमा जम्मा ३ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ। मध्य असारसम्म रुकुममा १०, रोल्पामा ९ दशमलव ५ र अर्घाखाँचीमा ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ।
प्रदेश ५ मा गतवर्ष ३ लाख ३० हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने यो वर्ष थप बढ्न सक्ने अनुमान गरिएको छ।
यसैबीच तिलोत्तमा नगरपालिकाले १७ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाएको छ।
तिलोत्तमा वडा नं. ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसरको खेतमा धान दिवस मनाइएको हो।
दिवसको अवसरमा नगरपालिकाको आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए।
रोपाइँ महोत्सवमा नगरप्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो।
यसैबीच तिलोत्तमामा कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यसवर्ष धान रोपाइँ भएको छ। नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैंले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो।
कुल खेतीयोग्य जमिन ८ हजार ४ सय ४९ हेक्टरमध्ये ८ सय ४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ।
जेठ दोस्रो साताबाटै रोपाइँ सुरू भएको तिलोत्तमामा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको नगरपालिकाले जनाएको छ।