मंगलबार दाङमा सलहको ठूलो झुण्ड प्रवेश गरेको छ। जिल्लाका कतिपय ठाउँमा सलहले मकै र धानबालीमा क्षति पुर्याएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले घोराही क्षेत्रमा दिउँसो २ बजेतिर लाखौंको संख्यामा सलहको तीन झुण्ड प्रवेश गरेको बताए।
धितालले भने ‘त्यसमध्ये एउटा झुण्ड उत्तर पश्चिम लागेको भए पनि वर्षाका कारण दाङमै बसेको छ।’
विभिन्न ठाउँका किसानले आफूलाई फोन गरेर सलहले मकै र धानबालीमा ठूलो क्षति गरेको भन्दै चिन्ता जाहेर गरेको उनले बताए। ‘किसान निकै आत्तिएका छन्,’ उनले भने ‘ किसान मात्रै हैन, के गर्ने? भनेर हामी पनि आत्तिएका छौं।’
दाङ देउखुरीको लमही, गढवा क्षेत्र, घोराही, तुलसीपुरका विभिन्न स्थानमा सलहको झुण्ड प्रवेश गरेपछि किसान चिन्तित बनेका हुन्।
सलहले मकै बाली र धानमा ठूलो मात्रामा क्षति गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ निवासी माया चौधरीले बताइन्। उनले आफूहरुले थाल, भाँडा ठटाएर र हो–हल्ला गरेर सलह धपाउन प्रयास गरेको जानकारी दिइन्।
लमही नगरपालिका वडा नं. ८ का धनसिंह चौधरीले ठूलो संख्यामा सलह कीरा आएको र त्यसले मकै तथा धान बालीमा क्षति गरेको बताए।
नेपालमा गत शनिबार बुटवल, बारा, पर्सामा सलह प्रवेश गरेको थियो। त्यसको दोस्रो दिनमा सानो संख्यामा दाङमा सलह देखिएको भएपनि मंगलबार भने ठूलो संख्यामा आएको छ।