पोखरा १८ खपौंदीका किसान कृष्णबहादुर थापाले धान रोपेपछि झुलजस्तै माछा मार्ने जालीले पुरै खेतमा बार हालेका छन्।
फेवातालको मुहानतर्फ फेवाफाँटमा जमिनबाट चराचुरुङ्गी मात्र नभई फट्याङ्ग्रा समेत जान नसक्ने गरी उनले जाली लगाएका छन्।
कृष्णबहादुरले मात्र होइन, अहिले फेवाफाँटमा खेत रोपेका अन्य किसानले पनि धान रोपेको खेतमा जालीको बार हालेका छन्।
धानको बिउ रोपेको खेतमा कुर्मा (पर्पल स्वाम्फेन) नामक चरा आउन नदिन यसरी बार लगाएको कृष्णबहादुरले बताए।
उनका अनुसार उक्त चराले रोपेको धानको जरा खाइदिन्छ। त्यसपछि धानको पात पानीमा तैरिएर बस्छ। यसरी चराले सताउन थालेको झण्डै ५ वर्ष भएको उनले बताए।
यो चरा धेरै उड्दैन। कुर्मा चरा उड्न भन्दा दौड्न माहिर भएको किसान बताउँछन्। उडेर नभई दौडेर नै रोपिएको खेतमा पस्ने र धमाधम धानको जरा खाइदिने गरेको अर्का किसान नारायण थापाले बताए। उडेर नआउने भएकाले नै जालीको बार मात्र हालेको उनले बताए।
चरा धपाउनकै लागि अहिले फेवा फाँटमा ५ जनालाई खटाइने गरेको छ। उनीहरुलाई सहयोग गर्न पोखरा वडा नं. १८ ले १ लाख रुपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष रणबहादुर थापाले बताए। ‘अलिकति किसानले पनि हाल्नुपर्यो, अलिकति हामीले सहयोग गर्छौ,’ वडाध्यक्ष थापाले भने।
यता, संरक्षणकर्मीहरु भने सिमसार क्षेत्रमा धान रोप्नु नै गलत भएको बताउँछन्। फेवातालको मुहानतर्फ पानीले नढाकेको ठाउँ हो फेवाफाँट। उक्त ठाउँमा पानी र माटोको दलदल हुने भएकाले त्यस क्षेत्रलाई सिमसार भनिन्छ।
सिमसारको जमिन चलाउँदा माटो बगेर फेवाताल पुरिने स्थानीय संरक्षणकर्मी देवेन्द्र सिंह बताउँछन्। रामसार क्षेत्रमा सूचीकृत फेवाफाँटको सिमसार क्षेत्र चराको सबैभन्दा उपयुक्त चर्ने क्षेत्र र बासस्थान रहेको उनको भनाई छ।
‘चरा चर्ने ठाउँमा खेत रोपेपछि चराले त्यसको प्रतिकार गर्छ,’ सिंहले सेतोपाटीसँग भने।
सिमसार क्षेत्रमा खेतिपाती गर्ने, डोजर चलाउने, घर, होटल तथा रेष्टुरेन्ट बनाउँदा सिमसारको ‘इकोसिस्टम’ नै ध्वस्त भएको उनको भनाइ छ।
सिमसार क्षेत्रमा धान रोप्न पानीको समस्या नहुने भएकाले पनि किसान भने त्यही क्षेत्र अतिक्रमण गरेर धान रोपिरहेका छन्।
सिमसार मलिलो हुने र धेरै अन्न उत्पादन हुने भएकाले पनि सिमसारमा खेत रोप्ने क्रम बढेको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन्।
चराले भर्खर रोपिएको धानको जरा र गुदी नै खाइदिने समस्या पछिल्लो समय सिमसार क्षेत्रमा बढेको उनले बताए। ‘चरालाई विषादी छर्केर धपाउन सकिँदैन’ उनले भने, ‘खेतमै बसेर धपाउने र बार हाल्ने नै उत्तम विकल्प हो।’ सिमसार क्षेत्र भन्दा बाहिर उक्त चराले भने कुनै क्षति नगरेको कडरियाले बताए।
सिमसार क्षेत्रमा पहिलेदेखि नै किसानले खेती गर्दै आएको वडाध्यक्ष थापाको भनाइ छ। पछिल्लो समय सिमसारमा खेती गर्ने क्रम बढेको उनी बताउँछन्। तर आफूले किसानलाई सिमसारमा खेती नगर भनेर भन्न नसक्ने उनले बताए।
‘देशमै कहलिएको जेठोबुढो धान राेपिएकाे हो,' उनले भने, ‘कसरी खेती नगर्नु भन्ने, म त सक्दिनँ।’