नेपालमा सलहको थप अरु झुण्ड आउने संभावना न्यून देखिएको छ।
हावाको दिशा पूर्वबाट पश्चिमतर्फ लागेकाले अरु सलहको झुण्ड आउने सम्भावना न्युन देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए।
‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गत शनिबारदेखि पश्चिमी तथा दक्षिण-पश्चिमी वायुको प्रभाव रहेकोमा शुक्रबारदेखि पूर्वी दक्षिण, पूर्वी हावाको प्रभाव रहने देखिएको छ,’ उनले भने, ‘यसले तत्काल नयाँ झुण्ड आउने सम्भावना कम देखिन्छ।’
भारतमा रहेका झुण्डहरुमध्ये नेपालबाट सबैभन्दा नजिकमा रहेका २ वटा झुण्डहरु बिहीबारसम्म उत्तर प्रदेशको इटावा (रुपन्देहीको सिमानाबाट करिब ५०० किलोमिटर टाढा) रहेकोमा शुक्रबार दक्षिण पूर्वतर्फ स्थानान्तरण भइ मध्य प्रदेशको दिलवारा (सिमानाबाट करिब ७ सय ६४ किलोमिटर टाढा) पुगेकोले पनि नयाँ सलहको झुण्ड नेपाल प्रवेश गर्ने संभावना कम देखिएको उनी बताउँछन्।
‘अहिले नेपाल भित्रने नजिकका झुण्ड टाढा पुगेका छन्, उत्तरबाट दक्षिण हावा बहे पनि झुण्ड नेपाल आइपुग्न समय लाग्छ,’ उनले भने।
सम्भावना न्यून देखिए पनि सलह झुण्डहरुको स्थानान्तरणको बारेमा निरन्तर अध्ययन अनुगमन भइरहेकाे उनले जानकारी दिए।
१३ गते नेपालको तराई क्षेत्रका केही जिल्लामा भारतबाट पहिलो पटक नेपाल सलह भित्रिएको थियो। हालसम्म ५२ वटा जिल्लामा सलहले प्रवेश गरेको छ।
त्यसमध्ये मकवानपुर, सिन्धुली, दाङ, प्युठान, अर्घाखाँची, पाल्पा र रोल्पाका केही ठाउँमा सामान्य क्षति पुर्याएको केन्द्रले जानकारी दिएको छ। त्यस्तै प्युठान र रोल्पामा भने अझै सक्रिय अवस्थामा सलह रहेको छ।
१३ देखि १५ गतेसम्ममा ठूलाे संख्यामा ५ वटा झुण्ड नेपाल प्रवेश गरेको छ। त्यस्तै १६ गते साना २ वटा झुण्ड प्रवेश गरेको केन्द्रले जानकारी दिएको छ।
केन्द्रकाअनुसार १३ गते बारा र पर्साबाट १२ देखि १५ लाखको संख्यामा एक झुण्ड आएको थियो। उक्त झुण्ड बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन पुग्याे।
सोही दिन ८ देखि १० लाखको एक झुण्ड सर्लाही प्रवेश गरेको थियो। उक्त झुण्डकाे केही समूह सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, काठमाडाैं, ललितपुर, भक्तपुर र नुवाकोट पुगे।
त्यस्तै, १२ देखि १५ लाखको संख्यामा एक झुण्ड रूपन्देही प्रवेश गरेको थियो। त्यो झुण्डकाे समूह रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, कास्की, लमजुङ्ग हुँदै गुल्मी पुग्यो।
१४ गते ८ देखि १० लाखको संख्यामा एक झुण्ड कपिलवस्तु प्रवेश गरेको थियो।
त्यो अर्घाखाँची, दाङ्ग र प्यूठान हुँदै रोल्पा, रुकुम पुग्यो। १५ गते २० देखि २५ लाखको संख्यामा नयाँ झुण्ड रुपन्देही प्रवेश गर्यो। त्यो अर्घाखाँची, दाङ्ग र प्यूठान हुँदै रोल्पा पुग्यो।
१६ गते २० हजारकाे संख्यामा एक झुण्ड प्रवेश गरेको थियो। त्यस्तै, १६ गते ८ देखि १० हजारको संख्यामा एक झुण्ड कैलाली प्रवेश गरेको थियो।