कफीको रैथाने जमिन भू–मध्य रेखा वरिपरि बिरुवा हुर्कन कुनै छहारी चाहिँदैन।
भू–मध्य रेखाबाट धेरै टाढा रहेको नेपालमा भने छहारी बिना कफीको उत्पादन असम्भव रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका प्रमुख चन्द्र पुरी बताउँछन्। ‘नेपालमा कफी खेती गर्न कुनै न कुनै छहारी चाहिन्छ’ उनले भने, ‘रुखको छाया भए पनि चाहिन्छ।’
कफीको माग नेपालमा भन्दा विदेशमा धेरै छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गत वर्ष नेपालमा ५ सय ३० मेट्रिक टन कफी उत्पादन भएको थियो। जसमा १ सय ८३ मेट्रिक टन कफी विदेश निर्यात भयो। तर नेपालमै माग अनुसार कफी पुगेको छैन।
नेपाली बजारमा अहिले वार्षिक १३ सय मेट्रिक टन कफी विदेशबाट आयात हुने गरेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए।
विदेशबाट आयात हुने कफीको मूल्य भन्दा बढी मूल्यमा नेपाली कफी विदेश निर्यात हुन्छ। अझै माग अनुसार कफी उत्पादन नै गर्न नसकिएको उनले बताए।
नेपालका उच्च पहाडी क्षेत्रमा अर्गानिक कफी पाइने भएकाले यसको माग बढी भएको भट्टराईले बताए। ‘नेपाली कफीको स्वाद, वासना, सन्तुलित गुण र उच्च गुणस्तर भएर नै विदेशीले मन पराएका हुन्’ भट्टराईले भने, ‘विदेशी कफीको तुलनामा नेपाली कफी महँगोमा विक्री हुन्छ।’ अन्य देशमा उत्पादन हुने भन्दा नेपाली कफीको स्वाद र वासना फरक रहेको र छुट्टै पहिचान बनेको उनको भनाइ छ।
नेपालमा कफी खेती १९९५ मा थालिए पनि व्यवसायिक उत्पादन भने २०४० देखि गरिएको थियो। अहिले नेपालमा २ हजार ७ सय ६१ हेक्टर जमिनमा कफी खेती गरिएको छ। बोर्डको अध्ययन अनुसार नेपालमा ११ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिन्छ। जसमा ९० हजार हेक्टर जमिनमा उच्च गुणस्तरको कफी खेती हुने गर्छ।
नेपाली बजारमै पनि धेरै माग भएको र विदेशमा समेत निर्यात हुने भएकाले किसानलाई कफी उत्पादनमा आकर्षित गर्न बोर्डले योजना बनाएको भट्टराईको दाबी छ। भूगोल र हावापानीकै कारण नेपालमा कफी खेतीको सम्भावना भएको र आम्दानी पनि धेरै गर्न सकिने उनको भनाइ छ।
कफी उत्पादनमा लागेका किसानले भने समस्यै– समस्या रहेको गुनासो गरेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका १ का कफी किसान कलाधर भुगाईले किसानको समस्या सरकारले बुझ्दै नबुझेको बताए।
उनको बारीमा अहिले १५ सय वटा कफीका बोट छन्। २०६३ देखि कफी खेतीमा लागेका कलाधरले २०७५ मा ८ सय वटा नयाँ विरुवा रोपेका थिए भने गत वर्ष ६ सय वटा रोपे।
गत वर्ष रोपिएको कफीका आधा भन्दा बढी विरुवा मरेको उनले बताए। कफी राम्रोसँग हुर्कियो भने रोपेको कम्तीमा ४ वर्षपछि मात्र उत्पादन दिन्छ। कलाधरको बारीबाट अहिले २ सय वटा कफीको बोटले मात्र उत्पादन दिएको छ। उनले गत वर्ष ९ सय किलो कफीको चेरी (दाना) बेचेर ९० हजार आम्दानी गरे। १ किलो कफीको चेरी सय रुपैयाँ पर्छ।
कलाधर अध्यक्ष रहेको माछापुच्छ्रे उत्तर कफी सहकारी संस्थाले पनि गत वर्ष ६५ हजार वटा कफीका विरुवा रोपेको थियो। जसमध्ये २० हजार बढी विरुवा मरेको कलाधरले बताए। संस्थामा १ सय ३२ जना किसान आवद्ध छन्।
सहकारीमार्फत कफी किसानले २१ लाख रुपैयाँ लगानी गरेका छन्। गत वर्षको चिसोले कफी मरेको भट्टराईले बताए। ‘कफीले चिसो याम सहन सक्दैन’ उनले भने, ‘धेरै चिसो भएर नै कफीका विरुवा मरे।’
चिसोले कफीका विरुवा मर्ने मात्र नभई रोग र कीराले पनि अहिले किसानलाई सताएको छ। कास्कीका कफी किसानलाई गभारा नामक रातो र सेतो गरी दुई थरी कीराले सताएको छ। यस्तै, कफीको हाँगा मर्ने, सुक्ने, सिन्दुरे रोग लगायतका रोग पनि देखिने गरेको छ।
यस्ता समस्याका बाबजुद किसानलाई सरकारले समाधान नदिएको भट्टराईले बताए। सरकारले कृषि बीमा कार्यक्रम मार्फत किसानको बालीको बीमा गरिदिने कार्यक्रम ल्याएको छ। यस्तै, बैंक र सहकारीले समेत कृषिमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ।
तर कफी किसानले व्यक्तिगत र समूहगत रुपमा कुनै ऋण नपाएको गुनासो गरको छन्। कफीको बीमा गर्न पनि सरकारी निकाय कफी किसानको पहुँचमै नपुगेको उनीहरुको गुनासो छ।
पोखरा ११ काहुँकी शर्मिला भण्डारी लामिछाने विगत ३ वर्षदेखि कफी खेतीमा लागेकी छन्। खरबारीमा ६ वटा बिरुवा रोपेर थालेको खेतीलाई उनले गत वर्ष मात्र १ सय वटा बिरुवा थपेर विस्तार गरेकी थिइन्। चिसो बढी भएकै कारण गत वर्ष उनको पनि ५० वटा बोट मर्यो।
सरकारले बाली बीमा कार्यक्रममा कफीको बीमा गर्न कम्तीमा ५ सय वटा बोट हुनुपर्ने प्रावधान राखेको छ। त्यही कारण आफूले कफीको बीमा गर्न नपाएको उनले बताइन्। ‘एकैपटक ५ सय बोट रोप्न सकिँदैन’, उनले भनिन्, ‘बढाउँदै लैजाउँ भन्दा सरकारी कार्यक्रम पाइँदैन।’
शर्मिलाले अहिले धान रोपेको खेतमा समेत कफी रोप्ने योजना बनाएकी छिन्। बजारमा बढ्दो माग र मूल्यकै कारण उनी कफीमा आकर्षित भएकी हुन्। उनलाई अर्को समस्या पनि छ। पोखरामा बढ्दो घरजग्गा कारोबारले पनि कफीको विस्तारमा समस्या परेको छ।
‘घडेरी र होटल बनाउनमै जग्गा मासिएका छन्,’ उनी भन्छिन्, ‘कफी खेती गर्नभन्दा पोखरा आसपासका डाँडाहरुमा समेत होटल रेष्टुरेन्ट खुल्न थालेपछि खेती गर्न जमिन नै पाइँदैन।’ उनले अहिले आफ्नो जग्गामा मात्र कफी रोपेको बताइन्।
कफी किसानले भोग्नुपरेको समस्या समाधानका उपाय पनि किसानले नै सुझाएका छन्। जिल्ला कफी सहकारी संघ कास्कीका अध्यक्ष आनन्द सुवेदीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई ५ बुँदे सुझाव दिएका छन्। उक्त सुझाव कार्यान्वयन गरे कफीको समस्या समाधान हुने उनको भनाइ छ।
उनले दिएको सुझावमा १, आन्तरिक व्यवस्थापन गर्नुपर्ने रहेको छ। जसमा कफी बोर्डको आफ्नै दरबन्दी अनुसार कर्मचारी, भौतिक संरचना, कफीको जातीय परीक्षण, बगैँचा व्यवस्थापन र प्रशोधन नमूना केन्द्र हुनुपर्ने उल्लेख छ।
२. संस्थागत विकास। जसमा कफी सहकारी, समूह लगायत कफी सम्वन्धी संस्थाहरुको विकास गर्नुपर्ने।
३. समन्वय। जसमा कफीमा काम गर्ने सबै निकायबीच समन्वय गर्नुपर्ने उल्लेख छ।
४. प्राविधिक पक्षको किसानलाई जानकारी। कफी खेतीका लागि जग्गा छनौट, उचाई, हावापानी, माटोको गुण, सिंचाई, छहारी, खाडलदेखि कफीको दूरीका बारेमा किसानलाई जानकारी गराउनुपर्ने।
५. किसानको उत्पादन। कफी उत्पादनका लागि पकेट क्षेत्र, ब्लक र नयाँ क्षेत्रको खोजी गर्नुपर्ने। स्थानीय कफी नर्सरी, सरकारी तथा गैरसरकारी अनुदान, सहज बीमा लगायत अन्य कृषिमा लागेका किसानले पाउने सुविधा कफी किसानले पनि पाउनुपर्ने।
उनले यी सुझाव दिएपनि कार्यान्वयन हुनेमा भने शंका गरे। सरकारले वास्तविक किसान नै नचिन्ने भन्दै उनले भने, ‘सरकारको आश गर्न सकिन्छ, भर गर्न सकिन्न।’
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले पनि कफी किसानलाई परेको समस्या पहिचान गरेको छ। बोर्डले गरेको अनुसन्धानमा नेपालमा लगाइएको कफीमा विभिन्न ६ थरी रोग र ६ थरी कीराले विनाश गरेको जनाएको छ।
यस्तै, कफीमा पोषण तत्वको कमी हुँदा ९ थरी लक्षण देखिएको बोर्डका पोखरा प्रमुख चन्द्र पुरीले बताए। उक्त समस्या जैविक विधिबाट समाधान गर्न आफूहरुले जोड दिएको उनले बताए।
कफीमा लागेको रोग, कीरा र गत वर्ष बढी चिसो हुँदा गण्डकीमा मात्र करिब ६० प्रतिशत उत्पादन घटेको पुरीले बताए। अघिल्लो वर्ष ९ लाख ५० हजार किलो चेरी उत्पादन भएको गण्डकीमा गत वर्ष ५ लाख किलो चेरी उत्पादन घटेको बोर्डको तथ्याङ्क छ।
स्याङ्जामा मात्र अघिल्लो वर्ष २ सय किलो कफीको चेरी उत्पादन भएकोमा गत वर्ष २५ हजार किलो मात्र उत्पादन हुन सकेको पुरीले बताए।
कफीको स्वाद र गुणस्तर परीक्षण गर्न पोखरामा ‘कफी कपिङ ल्याब’ संचालनमा छ। सरकारी स्तरमा कफीको गुणस्तर मापन गर्ने यो ल्याब पोखरामा मात्र छ। नेपालमा अधिकांश जिल्लामा उत्पादन भएको कफी विशिष्ट गुणस्तर मापन गरेको पुरीले बताए।
जति उचाईमा खेती गर्यो कफीको गुणस्तर उति नै राम्रो हुने उनले बताए। नेपालमा अहिले चितवनमा ३ सय मिटरदेखि नुवाकोटमा १७ सय मिटर उचाईसम्म कफी फलेको छ।
चिसो ठाउँमा कफीको गुणस्तर राम्रो हुने भए पनि कफीको बोट जोगाउन समस्या हुने पुरीले बताए। कफी उत्पादक किसानले समेत गत वर्षको हिउँदमा जस्तो मौसमले कफीलाई त्यसअघि प्रतिकुल अवस्था नपारेको बताएका छन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई भने किसानको समस्या समाधान गर्न बजेटको अभाव नभएको बताउँछन्।
‘कफी उत्पादन बढाउन बजेटमा समस्या छैन, जति चाहिन्छ त्यति दिन सक्छौँ’ भट्टराईले भने, ‘कफीमा इमान्दारिताको कमी छ।’ उनले चालु आर्थिक वर्षको तुलनामा कफीका लागि ३५ प्रतिशत बजेट बढेको, प्रदेश र स्थानीय सरकारले पनि बजेट छुट्याएको बताए।
कफी सम्बन्धी नीति समय सान्दर्भिक बनाउन लागेको बताउँदै उनले किसानमा देखिएका सबै समस्या समाधान गर्ने बताए। बोर्डले आगामी वर्षदेखि कफी नर्सरी प्रमाणीकरणको कार्यक्रम ल्याउन लागेको भन्दै बिउमै गुणस्तर कायम गर्न लागेको उनले बताए।
किसानले रोपेको अलैंचीको हिसाब राख्ने भन्दै उनले जमिन चक्लाबन्दी गरेर खेती गर्नेलाई प्राथमिकता दिने बताए। आफ्नो कार्यकालमा निजी क्षेत्रसँग सहकार्य गरेर ४ वटा कफी उद्योग खोल्ने, कफीका लागि नयाँ क्षेत्र विस्तार गर्ने, कफी किसानमाझ कृषि विश्वविद्यालयका विद्यार्थी परिचालन गर्ने, अनुसन्धान गर्ने जस्ता कार्यक्रम रहेको समेत उनले बताए।
चार महिना अघि मात्र बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका भट्टराईले उत्पादनका आधारमा कफी किसानलाई पनि अनुदान दिने नीति लिएको बताए।