पछिल्लो समय कुखुराको मासुको मूल्य बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको हो।
लकडाउनको सुरूवातमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय ८० रूपैयाँ थियो। अहिले ३ सय ९० देखि ४ सय रूपैयाँसम्म पुगेको छ।
बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्की बताउँछन्।
‘लकडाउन खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत बढेको छ। त्योसँगै मूल्य पनि बढेको छ,’ उनले भने, ‘लकडाउनले गर्दा किसानले चल्ला हालेनन्, अहिले बजारमा ज्युँदो कुखुरा अभाव छ।’
उनकाअनुसार दुईसाता अघि कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ६० थियो। बीचमा प्रतिकेजी ८० पुग्यो भने, शुक्रबारदेखि ३ सय ९० रूपैयाँ पुगेको छ।
किसानले चल्ला हाल्न नसक्दा कुखुराको अभाव भई मूल्य बढेको उनी बताउँछन्।
‘लकडाउनको सुरूआतमा किसानले कुखुराको मूल्य पाएनन्, कसैको दाना, पानी खुवान नसकेर खोरमै चल्ला मरेपनि। लकडाउनले काम नगरी खाँदा पैसा सकिएर पनि किसानले चल्ला हाल्न सकेनन्,’ उनले भने, ‘त्यसैले अहिले ज्युँदो कुखुरा अभाव भएको हो।’
अहिले ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० पाएको काभ्रेस्थलीको कुखुरा पालक किसान राजन अधिकारीले बताए। उनकाअनुसार यो मूल्य अहिलेसम्मकै अधिक मूल्य हो।
हप्ता १० दिनपछि विस्तारै कुखुराको मासुको मूल्य घट्ने भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले बताए।
‘लकडाउनले गर्दा किसानले चल्ला हालेका थिएनन्, त्यसैले कुखुराको अभाव भएको हो,’ उनले भने, ‘अब हप्ता १० दिनपछि बजारमा कुखरा पर्याप्त आउँछ, त्यसपछि विस्तारै मूल्य घट्न थाल्छ।’
कुखुराको मासूको मात्रै होइन अण्डाका मूल्य पनि ह्वात्तै बढेको छ। १ महिनाप्रति क्यारेट ३ सय २० उपभोक्ता मूल्य रहेको अण्डा अहिले १ सय बढेर ४ सय २० पुगेको छ।
लकडाउनका कारण किसानले कुखुरा नपाले पछि अण्डाको मूल्य बढको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए। उनकाअनुसार किसानले प्रतिगोटा ११ रूपैयाँ ५३ पैसा पाएका छन्।