एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले खेतिपाती गर्नमात्र नभई कृषिको मूल्य श्रृंखलामा जोडिनेलाई पनि सहुलियत पूर्ण कर्जा दिने बताएका छन्। राष्ट्रिय युवा परिषद्ले गरेको ‘कृषिको प्रवर्धन, प्रविधि र वित्तिय व्यवस्थापन’ विषयक छलफलमा गोल्यानले यस्तो बताएका हुन्।
खेतबारीमा लगाइने उत्पादन मात्र कृषि नभई कृषि सामानको प्रशोधन तथा बजारीकरण पनि कृषि अन्तर्गत राखेर हेरिनुपर्ने उनको भनाइ छ।
‘उत्पादन गर्न मात्र होइन कृषिको प्रशोधन उद्योग तथा बजारीकरण गर्न कोही युवा चाहन्छन् भने हामी पूजीँको व्यवस्था गरिदिन्छौं,’ उनले भने।
काम गर्न चाहने युवालाई पूजीँको अभाव नहुने भन्दै गोल्यानले एनएमबी बैंकको शाखा नभएको ठाउँमा पनि अन्य बैंकसँग सहकार्य गरेर ऋणको व्यवस्था गरिदिने बताए।
‘काम गर्नेलाई पूजिँको अभाव हुँदैन। तर पूँजी अन्य ठाउँमा जाँदैन, डुब्दैन भन्ने विश्वास बैंकलाई दिलाउनु पर्छ,’ उनले भने।
लकडाउन खुल्ने बित्तिकै प्रत्येक प्रदेशमा गएर जुन ठाउँमा जे उत्पादन हुन्छ त्यो अनुसारको प्रोसेसिङ उद्योग उत्पादननको लागि मेसिन तथा आवश्यक तालिम दिने उनले बताए।
टमाटर बढी उत्पादन हुने ठाउँमा सस बनाउने उद्योग, आलू उ्रत्पादन हुने ठाउँमा चिप्स उद्योग तथा दूध बिक्री नभएको ठाउँमा स्लाइस चिज तथा बटर उत्पादन उद्योग राख्न सकिने उनले बताए।
कोरोनाका कारण फर्किएका २० देखि २२ लाख युवालाई रोजगारीका लागि सहयोग गर्नुपर्ने उनले बताए।
किसानको मूख्य समस्यो विचौलीया युवाले हटाउन सक्ने उनले बताए। ‘गाउँका आमाबुवाले उत्पादन गरेका हुन्छन्। काठमाडौंबाट व्यापारीले थोरै मूल्य दिएर आफू बढी मूल्यमा बेच्छ, गाउँका युवाले त्यसलाई अनलाईन मार्फत् बेच्न सक्छन्,’ उनले भने।
कसैले अर्गानिक उत्पादन गर्छन् भने तालिम पूजिँ तथा आवश्यक सहयोग गर्न आफू तयार भएको उनले बताए।
नेपाली भएर नेपाली लगाउँ, नेपाली खाउँ भन्ने भावना भएमात्र नेपालको कृषिले फड्को मार्ने उनको भनाइ छ।
उनकाअनुसार चालू आवमा एनएमबी बैंकले ६ सय महिलालाई सहुलियत कर्जा दिएको छ।
महिलालाइ १५लाखसम्म बिना धितो कहाँ गर्ने, के गर्ने कति उत्पादन गर्ने, कति आम्दानी हुन्छ भन्ने प्रस्तावका आधारमा ऋण दिएको उनले बताए।
त्यस्तै, ५ करोड लोन लिन भने प्रोजेक्ट बनाउनु पर्ने छ। त्यसमा ३० प्रतिशत आफैले लगानी गर्नुपर्छ भने ७० प्रतिशत बैंकले दिने उनले बताए।
२ देखि ३ महिनामा कृषि बाली उत्पादन हुनेहुनाले यसबाट छिटो आम्दानी गर्न सकिने जनज्योती मावि, सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले बताए।
हाम्रो कृषि उत्पादन प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ।
‘गाउँघरका पसलमा कहाँ कहाँबाट सामान आएको छ। त्यो गाउँमा त्यो हुन्छ की हुँदैन अध्ययन गरेर उत्पादन गर्न युवा लागि गर्नुपर्छ,’ उनले भने।
लाखभन्दा बढीको संख्यामा कृषि विद्यार्थी भएपनि उनीहरूले केही गर्न नसकेको उनले बताए।
‘लाखौंले कृषि पढेका छन् तर उनीहरूलाई किसान समक्ष पुर्याउन सकिएको छैन,’ उनले भने, ‘कृषि उद्यमी बन्नका लागि सानैदेखि किसान बनाउनु पर्छ।’
‘कृषि पढ्ने विद्यार्थीले पढ्ने बेलामा कहाँ के उत्पादन हुन्छ भन्ने कुराको अध्ययन गर्नुपर्छ। त्यसले पढ्दै गर्दा नै उसलाई कृषि सिकाइन्छ र पढिसकेपछि कृषि उद्यमी बन्छ।’
पूजिँ अभाव, तत्काल आम्दानी नहुने, तथा वित्तिय पहुँच कम हुनु लगायतको समस्यले गर्दा युवाको रोजाईमा कृषि पर्न नसकेको प्राध्यापक निराजन भट्टराईले बताए।
‘युवा पढाई पुरा हुने बित्तिकै आफ्नो अभिभावकलाई भार नपरोस् भनेर आयआर्जनको स्रोत खोज्छ, विभिन्न समस्या भएपछि उ जागिर गर्छ,’ उनले भने।
सरकाले दिने अनुदान सहज हुनपर्ने उनले बताए। अनुदानको प्रस्ताव लेख्न नसक्दा पनि विचौलिया हावी हुने गरेको उनकाे भनाइ छ।
‘अनुदानको प्रस्तावको ढाँचा नै गाह्रो छ, सामान्य किसानले लेख्न सक्दैनन्, प्रस्ताव लेखिदिनेले अनुदान लिइरहेका हुन्छन्,’ उनले भने, ‘ त्यसैले साधारण लेखपढ गरेकाले पनि प्रस्ताव लेख्न सक्ने खालको प्रस्तावको ढाँचा हुनुपर्छ।’
कृषिमा युवालाई आकर्षित गर्न उत्पादनको बजार सुनिश्चित हुनुपर्ने उनले बताए।