कोभिड–१९ को महामारीका कारण प्रभावित बनेका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ।
उपमहानगरपालिकाले किसान लक्षित राहतस्वरुप अनुदान प्याकेजको कार्यक्रम अगाडि सारेको हो।
सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन विभिन्न कार्यक्रम गर्दै आएको उपमहानगरपालिकाले कृषिमा समर्पित किसानहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग गरेको जनाएको छ।
कोरोना महामारीका कारण कृषि उत्पादनलाई बजार सम्म पुर्याउन नसकी नष्ट गर्नुपरेको भन्दै राहत स्वरुप ५८ जना किसान र दुईवटा समूह सहकारी गरी कुल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
उपमहानगर प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा लगायतले किसान र समूहलाई अनुदान वापतको चेक प्रदान गरेका हुन्।
किसानलाई कुनै पनि प्राकृतिक विपत्तीका कारण प्रभावित हुन नदिनको लागि राहत स्वरुप अनुदान रकम उपलब्ध गराइएको सुवेदीले बताए।
विदेशबाट फर्किेएका र व्यवसाय उन्मुख कृषकलाई लक्षित गरी घोषणा गरिएको कोभिड–१९ विशेष कृषि विकास प्रोत्साहन कार्यक्रममा छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरुलाई स्वीकृत कार्यक्रम अनुसार प्रोत्साहन अनुदान दिइएको उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए।
जिसीका अनुसार छनौट भएका किसानलाई कार्य प्रगति अनुसार १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ र समूह सहकारीहरुलाई १ लाख र १ लाख ४० हजार नगद अनुदान प्रदान गरिएको हो।
बुटवल उपमहानगरपालिकाले कुल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको जनाएको छ। यसरी अनुदान प्राप्त गर्ने कृषि सहकारीमा सिम्रिक कृषि सहकारी संस्था र आदर्श कृषि सहकारी संस्था छन्। तिमध्ये सिम्रिकलाई एक लाख ४० हजार र आदर्शलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ।
उपमहानगरपालिकाले यीनै सहकारी संस्थाहरुको सहकार्यमा किसानलाई फसल धितो राखेर अनुदान दिंदै आएको छ। फसल धितो राखेर अनुदान दिने स्थानीय तहमा बुटवल नै पहिलो हो।