धनुषा, महोत्तरी तथा सर्लाही आसपासका केही जिल्लामा दुईतिन दिन भित्रमा सलह प्रवेश गर्ने संभावना रहेकोले आवश्यक तयारी गर्न सलह सूचना केन्द्रले अनुरोध गरेको छ।
प्लान्ट भिलेजले गरेको सहल किराको विष्लेषण विवरणअनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बिचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको देखिन्छ। यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी र सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार सबै प्रदेशमा आइतबारसम्म सामान्य तथा पूर्ण पानी पर्ने संभावना रहेको छ।
‘पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भएता पनि उक्त झुण्डहरु धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा र सुदुर पश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश नं ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकोले प्रदेश, कृषि ज्ञानकेन्द्र, निर्देशनालयमा जानकारी गराएको सलह सूचना केन्द्र प्रमुख रामकृष्ण सुवेदीले बताए।
‘प्लान्ट भिलेजले गरेको सहल किराको विष्लेषण विवरणअनुसार दुईतिन भित्रमा धनुषा, महोत्तरी तथा सर्लाहीका आसपासका जिल्लामा सलह प्रवेश गर्ने संभावना देखिएकोले हामीले आवश्यक तयारी गर्न सम्बन्धित निकायमा जानकारी गराएका छौं,’ उनले भने।