बुटवल उपमहानगरपालिकाले कोरोना भाइरसका कारण प्रभावित पशुपालक किसानलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग गरेको छ। यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा लागेका किसानलाई सहयोग उपलव्ध गराइएको थियो।
बुटवल उपमहानगरपालिकाका विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले नगद सहयोग गरेको हो।
तरकारी तथा खाद्य बाली उत्पादन गर्दै आएका किसान, तिनै किसानले सञ्चालन गरेका सहकारी संस्था र पशुपालन गर्दै आएका किसानसमेत करिब दुई सय जनालाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिइन्।
पशुपालक किसानहरुलाई आर्थिक प्रोत्साहन प्रदान गर्दै उपप्रमुख आचार्यले सधै अप्ठ्यारो अवस्था नरहने भन्दै व्यवसायलाई निरन्तरता दिन आग्रह गरिन्। उनले महामारीका बेलामा कृषि उपजको महत्व बढेको र स्वदेशी उत्पादनको प्रवद्र्धनमा सबैको चासो रहेको उल्लेख गर्दै बुटवलमा सोही अनुरुपका कार्यक्रम बनाइएको जानकारी दिइन्।
बुटवलले सहरी कृषिलाई प्रवद्र्धन गर्नका लागि भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व वृद्धिका लागि विशेष योजनासमेत बनाएको छ। उक्त कामका लागि उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा विशेष कार्यदलसमेत गठन भएको छ।
अहिलेको संकटलाई अवसरका रुपमा बदल्नका लागि उपमहानगरले किसानसँग हातेमालो र सहकार्य गर्नेगरी आवधिक तथा दीर्घकालीन महत्वका योजना बनाइरहेको प्रवक्ता तथा कार्यदलका संयोजक रेग्मीको भनाइ छ।
किसानले महामारीकै बेलामा बाख्रापालन, बंगुर पालना गर्ने र खोर सुधार गर्नेजस्ता कामका लागि इच्छा जाहेर गरेका थिए। सोही आधारमा १९ वटै वडाबाट छनोट गरिएका किसानलाई आर्थिक प्रोत्साहनस्वरुप सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
प्रदेश सरकारको सहकार्यमा करिब ११ लाख रुपैयाँ बराबरको आर्थिक प्रोत्साहन वितरण गरिएको उपमहानगरको पशुपंक्षी विकास शाखाले जानकारी दिएको छ।