धान रोपाइँ हुने क्षेत्रफलमध्ये ८१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार असार मसान्तसम्ममा ८१.८५ प्रतिशत भुभागमा रोपाइँ सकिएको हो।
यो गत असार मसान्तसम्म रोपाइँ भएको क्षेत्रफलको तुलनामा दुई गुणाले बढीले गत असार मसान्तसम्म ४० प्रतिशत भुभागमा मात्रै रोपाइँ भएको थियो। समयमै मनसुन सुरू हुनाले रोपाइँ बढेको मन्त्रालयले बताएको छ।
उक्त अवधिमा उच्च पहाडमा ७४.७६, मध्य पहाडमा ७५.१२ र तराईमा ८४.२१ प्रतिशत भुभागमा रोपाइँ सकिएको छ।
सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ९१.८६ प्रतिशत भुभागमा रोपाइँ भएको छ। त्यस्तै, कर्णालीमा ८६.८४, प्रदेश ५ मा ८६.६०, गण्डकीमा ८३.६९, प्रदेश २ मा ८३.४१, प्रदेश ३ ७२.१० र प्रदेश १ मा ६९.९१ प्रतिशत भुभागमा रोपाइँ सकिएको छ।