नेपालमा असोजसम्म सलहको जोखिम रहनसक्ने देखिएको छ।
भारतको राजस्थानमा सलहले अण्डा र बच्चा पार्ने क्रम नरोकिएपछि यसको जोखिम नेपालमा असोजसम्म देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए।
उनका अनुसार सलहको आयु तीन महिना हुन्छ। यसले गर्मी माैसम फागुन–चैतदेखि साउनसम्म वंश वृद्धि गर्न सक्छ। जाडोमा यसले वंश वृद्धि नगर्ने हुनाले यो आफैं हराउँदै जान्छ।
पाकिस्तान, अफगानस्तानबाट पनि सलह उडेर राजस्थान नै आउँछ। हावाको चाप उत्तरतर्फ फर्किन सक्ने भएकाले नेपाल असोजसम्म सलहको जोखिममा रहेकाे उनले बताए।
‘राजस्थानमा धेरै सलह भएकाले नेपाललमा आउन धेरै समय लाग्दैन,’ उनले भने।
गतवर्षको तुलनामा यस वर्ष झण्डै चारगुणाले सलहको संख्या वृद्धि भएको उनले बताए।
हाल नेपालमा १२ देखि १५ लाखको संख्यामा सलह रहेका छन्। उक्त संख्याका सलह कञ्चनपुर, नेपालगञ्ज, बर्दिया तथा सुर्खेतलगायतका जिल्लामा छरिएर रहेका छन्।
त्यसमध्ये नेपालगञ्जमा भने ठूलो संख्यामा सलह रहेको उनले बताए। यसबाट क्षती भएको वा नभएको बारे केन्द्रमा कुनै जानकारी नआएको केन्द्रले बताएको छ।
असार १३ गते प्रथम पटक बारा, पर्सा हुँदै सलह नेपाल प्रवेश गरेको थियो।