राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यालय भैरहवाले नयां तीन वटा जातको गहुँ अनुसन्धान गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा ‘एनएल १३०७’, ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरेको कार्यालयले जनाएको छ।
गहुँबाली अनुसन्धानका बरिष्ठ वैज्ञानिक दीपक पाण्डेले अनुसन्धान गरिएका गहुँको जात कृषि मन्त्रालयमा रहेको राष्ट्रिय बीउबिजन समितिमा सिफारिसको तयारी भइरहेको जानकारी दिए।
पाण्डेकाअनुसार गहुँको नयाँ जातलाई समितिले स्वीकृत दिएर राजपत्रमा सूचना प्रकाशन गरेपछि कार्यान्वयनमा आउने छ। यो नयाँ जातमा अन्य गहुँमाभन्दा जिंक र आइरनको मात्रा २५ प्रतिशतले बढी हुन्छ। जसले गर्दा यसको स्वाद मिठो हुनुका साथै मानव स्वास्थ्यका लागि पनि लाभदायक हुने उनले दावी गरे। नयाँ जातको गहु्ँको उत्पादकत्व समेत राम्रो उनको भनाइ छ।
खाद्यान्न विश्लेषण गरेर जिंक तथा आइरन भएका जातहरु अनुसन्धान र उन्मोचनका लागि सिफारिस गरिएको पाण्डेले बताए। अनुसन्धान गरिएको नयाँ जात तराई क्षेत्रमा चालू आर्थिकवर्षको सिजनबाट प्रयोगमा आउनेछ।
अघिल्लो वर्ष ‘भैरहवा लायन ४३४१’ नामको नयाँ जातको गहुँ अनुसन्धानपछि प्रयोगका लागि सिफारिस गरिएको थियो। यो कार्यान्वयनमा आइसकेको छ। तराईमा राम्रो उत्पादन हुँदै आएका भृकुटी, गौतम जातको गहुँमा पछिल्लो समय खैरो सिन्दुरे, डढुवा जस्ता रोगको प्रकोप बढ्दै गएको छ। यसको विकल्पमा जिंक र आइरनको मात्रा बढी भएको र रोग लाग्ने सम्भावनासमेत न्यून भएका नयाँ जातको गहुँ अनुसन्धान गरिएको पाण्डेले बताए।
कार्यालयले ४६ वर्षदेखि गहँुको जातीय विकास, गहुँसँग सम्बन्धित प्रविधिको विकास, गहुँको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ। यो अवधिमा ४७ जातका गहुँ अनुसन्धान भइसकेको छ।
यीमध्ये ३२ जातको गहुँ नेपालमा खेती हुँदै आएको छ। कार्यालयका अनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुँदै आएको छ। त्रिवेणी, भाष्कर, लुम्बिनी लगायत १२ जातको गहुँमा रोगको प्रकोप तथा उत्पादन र उत्पादकत्व समेत राम्रो नभएका कारण विस्थापित गरिएको छ।
नेपालमा तराईका लागि एनएल ९७१, बाणगंगा, बीएल ४३४१, भृकुटी, गौतम जातको गहुँ उत्तम मानिन्छ। तर, भृकुटी र गौतममा रोगको प्रकोप बढ्दै गएपछि यी जातलाई पनि विस्थापित गर्ने तयारी गरिएको छ ।
यस्तै, पहाडी क्षेत्रका लागि स्वर्गद्वारी, धवलागिरी, डब्लुके १२०४ लोकप्रिय जात हुन् भने उच्च पहाडमा डाँफे, पासाङ ल्यामु लगायतको जात उत्तम मानिन्छ। नेपालमा ९५ प्रतिशतभन्दा बढी किसानले स्वदेशमै उत्पादित विभिन्न जातको गहुँको बीउ प्रयोग गर्ने गर्छन् भने मुलुकभर ७ लाख ६ हजार ८ सय ४३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ।
नेपालमा सन् १९६० देखि गहुँ अनुसन्धान सुरु गरिएको हो।