जुम्लामा फल्ने मार्सी धानको चर्चा काठमाडौंसम्म छ। झन् तीन वर्षअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाइदिएपछि त्यसको चर्चा र माग ह्वात्तै बढेको थियो।
जुम्लाको मार्सीजस्तै पोखराको रैथाने धान पोखरेली जेठोबुढोका गुण पनि कम्ता छैनन्। स्वादिलो चामलको भातका पारखीहरूका लागि पोखरेली जेठोबुढो नयाँ नाम पनि होइन। पोखरेलीहरूको त मुख्य खाना नै यही धानको भात!
यसको स्वाद, मुलायमपन र वासनाका कारण यसले धेरैलाई लतै लगाउँछ।
कृषि वैज्ञानिक भरत भण्डारीले जेठोबुढो धानमा अध्ययन-अनुसन्धान गरेका छन्। उनी स्थानीय खाद्यवालीको अनुसन्धान गर्ने संस्था जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल 'लिबर्ड' कार्यक्रम विकास निर्देशक हुन्।
भण्डारीका अनुसार जेठोबुढोका पौष्टिक तत्व अरू चामलमा पाइने जस्तै भए पनि यसका केही गुण अरूभन्दा भिन्न छ।
'जेठोबुढोको विशेष गुण भनेको, यो नरम हुन्छ। पकाउँदा फरर पर्छ र मगमग वासना आउँछ,' उनले भने, 'चामल पकाउँदा धेरै बढ्छ र स्वादिलो पनि छ।'
तर यो रैथाने धान समयसँगै बिग्रिँदै गएको थियो। रोग लागेर उत्पादन घट्न थाल्यो। वासना समेत हराउन थालेपछि किसानहरू चिन्तित भए। किसानहरूको गुनासो सुनेपछि २० वर्षअघि लिबर्डले अनुसन्धान थाल्यो। किसानका खेतमा गएर खोजीमूलो गर्यो। ठेट निष्कर्षमा पुग्न सकेन। अनि अनुसन्धानका लागि लिबर्डले खेत लिएरै धान रोपेको थियो। जब बेला आयो, एकनासको धान फलेन। रोग, कीरा लाग्ने र ढल्ने समस्या पनि देखियो।
लिबर्डलाई जेठोबुढोको असली बाली पत्ता लगाउनु थियो। लिबर्डका अनुसन्धानदाता र प्राविधिक टोलीले पोखराका ५ वटा फाँटका ३ सय ५० किसानको खेतबाट नमूना लिए।
यो अनुसन्धानमा सुरूदेखि लागेका भण्डारीले भने, 'त्यतिबेला हामीले जेठोबुढो जातका भनेर ४४ थरि धानका बाला भेट्टायौं।'
जेठोबुढो धान हुनलाई के-के गुण चाहिन्छ भनेर फेरि किसानका घर, खेत, धान कुट्ने मिल र उपभोक्ताको घरसम्म लिबर्डका अनुसन्धाता पुगे। थरिथरि जेठोबुढो पकाएर, खाएरै जाँचे।
लिबर्डले संकलन गरेका नमूनाहरूमा रोग, कीरा, उत्पादन लगायतका गुणहरू हेर्दै गए। किसानको खेतबाट छानेर ल्याएका बालालाई बिउ बनाएर केही ठाउँमा रोपे। कुन धानको बोट ढलेन, रोग-कीरा कम लाग्यो, वासना, स्वाद र उत्पादनमा किसानले भनेअनुसार भयो, छुट्याए।
यो क्रम छ वर्षसम्म चल्यो। अनि बल्ल असली जेठोबुढो धान पत्ता लाग्यो।
यसरी सबभन्दा राम्रो देखिएको धानलाई लिबर्डले 'पोखरेली जेठोबुढो' नाममा सूचिकृत गर्न सिफारिस गर्यो। राष्ट्रिय बिउविजन बोर्डले सबै कुरा सुधारिएको भनेर प्रमाणित गरेपछि सरकारले सन् २००५ मा राजपत्रमा प्रकाशित गरेर पोखरेली जेठोबुढोको बिउ सिफारिस गरेको थियो।
अहिले पोखराका फाँटहरूमा यही धान लहलहाउँछ।
'स्थानीय जातका बाली सुधार गरेर पनि फाइदा लिन सकिन्छ,' भण्डारीले भने, 'भएका खाद्यवालीका विविधतामा पनि छनौट गरेर, प्रतिस्पर्धी बनाएर, राम्रो जातको छानेर फाइदा लिन सकिन्छ।'
अहिले पनि लिबर्ड आफैंले पोखराका विभिन्न तीन ठाउँमा धान रोपेर मुख्य बिउ उत्पादन गर्दै आएको उनले बताए।
लिबर्डले मुख्य बिउका रूपमा वर्षमा ९० किलोसम्म जेठोबुढो उत्पादन गर्छ। उत्पादित बिउ पोखरा महानगरको कृषि महाशाखा मार्फत बिउ उत्पादक किसानले पाउँछन्। किसानले वार्षिक १० टनसम्म जेठोबुढोको बिउ उत्पादन गर्छन् र फाँटभरीका किसानलाई बिक्री गर्छन्।
पोखराको आर्वा, पामे, खोलाको छेउ लगायत स्थानमा बिउ उत्पादक किसान छन्।
जेठोबुढोको खेती पोखराबाहेक अन्यत्र त्यति भएको पाइँदैन। त्यसो त पोखरामा पनि अरू जातका धान कमै रोपिन्छ। यसको कारण पोखराको हावापानी र माटोको प्रभाव भएको कृषि प्राविधिकहरूको भनाइ छ।
'जेठोबुढोलाई धेरै पानी चाहिन्छ। त्यो पनि मूलको चिसो पानी,' भण्डारीले भने, 'पोखरा धेरै पानी पर्ने ठाउँ भएकाले पनि यसलाई अनुकूल छ।'
समुद्री सतहदेखि ८ सय मिटर उचाइसम्म फल्ने जेठोबुढो तराईका केही जिल्लामा पनि रोपिएका उनले बताए, 'तर तराईमा रोप्दा पोखरामा फलेजस्तो गुण आउँदैन।'
पोखराका किसानले जेठोबुढो खेती गर्न मन पराउनुको अर्को कारण पनि छ, यो धान ढिलो पाक्छ। धानपछि अरू खेती नरोप्ने धापिलो ठाउँमा धेरैजसो जेठोबुढो रोपिन्छ। रोपेर छोडिदिएपछि आनन्द। यसरी फलाइएको जेठोबुढो धान र चामलको भाउ अरू चामलको तुलनामा धेरै छ।
बजारमा यसको माग पनि धेरै छ। धान भित्र्याउने बेला खलाबाटै बिक्री हुने गरेको किसानहरूको अनुभव छ।
पोखरा-२४ पामेकी किसान गौरी नेपाली यो धान बिक्रीका लागि कुनै समस्या नभएको बताउँछिन्। फेवातालको मुहानतर्फ चंखपुरमा गौरीले १६ हल गोरू लाग्ने खेतमा पाँच वर्षदेखि अधियाँमा धान रोपेकी छन्। गत वर्ष मात्र यति जमिनमा खेती गर्दा ५० मुरी धान फलाएको उनले बताइन्।
यस वर्ष भने समयमै पानी परेकाले ६० मुरीसम्म फल्ने उनको अनुमान छ। गत वर्ष फलेको ५० मुरी धानमा जग्गाधनीले आधा लगे। बाँकी २५ मुरीमा १६ मुरी धान आफूले खानका लागि राखिन्। अरू ९ मुरी खेतको खलाबाटै बेचिन्, प्रतिमुरी ४ हजार रूपैयाँ पर्यो।
पामेकै अर्का किसान चन्द्रबहादुर नेपाली अहिले धान गोड्दैछन्। जेठ अन्तिम साता रोपेको धानको गाँज अहिले फैलिएको छ।
जेठोबुढो नै रोप्नुको कारण धेरै फल्नु मात्र होइन। यसलाई सानोतिनो बाढीले असर गर्दैन, पानी धेरै पर्यो भनेर चिन्ता पनि गर्नु पर्दैन।
'फेवातालमा आउने सानातिना बाढीले पनि केही गर्दैन,' चन्द्रबहादुरले भने, 'ठूलो बाढीले बगाएन र पहिरोले पुरेन भने यो धानलाई केही हुँदैन।'
लोकनाथ तिमिल्सिना पामेकै अर्का किसान हुन् जो जेठोबुढो खेती गर्छन्। उनका अनुसार पानी जति परे पनि जेठोबुढोलाई फरक पर्दैन। रोग, कीरा र मल अभाव भए पनि फल्न भने नछाड्ने उनको भनाइ छ।
लिबर्डका कार्यक्रम विकास निर्देशक भरत भण्डारी रैथाने बालीको विशेषता नै यही भएको बताउँछन्।
'रैथाने बालीले वर्षौंदेखि त्यो हावापानी सहेर, खपेर बसेको हुन्छ,' उनले भने, 'खडेरी, रोग-कीरा, तातो, चिसो पनि सहने गुण हुने भएकाले जलवायु परिवर्तनका असर सहन्छ।'
रैथाने जातको खेती गर्दा उत्पादनलाई नै बिउ बनाउन सकिने, धेरै मल-पानी नचाहिने र प्रांगारिक रूपमै उत्पादन गर्न सकिने भएकाले किसानलाई सजिलो पर्ने कृषि प्राविधिकहरू बताउँछन्।
जेठोबुढो पोखरामा कहाँबाट कहिले आयो, यकिन छैन।
कृषि अनुसन्धाता पिताम्बर श्रेष्ठ पोखरा क्षेत्रमा जेठोबुढो धान खेती पुस्तौंदेखि हुँदै आएको बताउँछन्।
'किसानले नै छनौट गरेर यो धानको विकास गरेका हुन्,' उनले भने, 'हावापानी अनुसार धानले पनि रूप, रङ र आकारप्रकार बनाउँदै गयो।'
पामेका किसानहरू पनि आफ्ना पुर्खाहरूले रोप्दै आएको धान नै आफूहरूले लगाएको बताउँछन्।
अनुसन्धाता श्रेष्ठ भने जेठोबुढो धान पोखरामै उत्पत्ति भएको र अन्त पनि यहीँबाट गएको अनुमान गर्छन्। मानिसहरू पोखरामा आएर खेतीपाती गर्न थालेदेखि नै जेठोबुढो धान खेती गरेको हुनसक्ने उनको आकलन छ।
'यसको विकासक्रममा प्रकाश पार्न जेनेटिक स्टडी नै गर्नुपर्छ,' उनले भने, 'तर उत्पत्ति भने यसबाट पनि पत्ता लाग्दैन।'
जेनेटिक स्टडीबाट जेठोबुढो धान कुन-कुन जातका बालीसँग मिल्दोजुल्दो छ भनेर पनि पत्ता लगाउन सकिने श्रेष्ठले बताए।
विश्वमै दक्षिण एसिया धानको रैथाने बालीको उत्पत्ति र विकास भएको क्षेत्र मानिन्छ। जसमध्ये नेपालमा पनि ४ प्रजातिका धान उत्पत्तिको रेकर्ड छ। तर यी ४ प्रजातिमा जेठोबुढो नपर्ने लिबर्डका कार्यक्रम सञ्चालन निर्देशक समेत रहेका श्रेष्ठले जानकारी दिए।
जेठोबुढो खेती गर्न किसानलाई प्रोत्साहन स्वरूप पोखरा महानगरले गत वर्ष अनुदान दिएको थियो। प्रतिरोपनी ५० किलो जेठोबुढो उत्पादन गर्नेलाई ९० रूपैयाँ, १०० किलोभन्दा बढी गर्नेलाई प्रतिकिलो एक रूपैयाँका दरले कुल ६ लाख रूपैयाँ अनुदान दिएको थियो।
यस वर्ष भने महानगरले यो अनुदान कार्यक्रम हटाएको छ। महानगरका मेयर मानबहादुर जिसीले उत्पादनका आधारमा अनुदान दिने गरी कृषि विकासका कार्यक्रम ल्याउन उक्त अनुदान हटाइएको बताए।
'जेठोबुढो धानलाई ब्रान्डिङ गर्न खोजिरहेका छौं,' उनले भने, 'किसानलाई उत्पादनमा सहयोग गरेर उपभोक्तालाई शुद्ध जेठोबुढो खरिद गर्न पाउने व्यवस्था मिलाउन सहजीकरण गर्दैछौं।'
यति हुँदाहुँदै जेठोबुढो फल्ने पोखराका फाँट भने विस्तारै खुम्चिँदै छन्।
महानगरको रेकर्डअनुसार सन् २००० देखि सन् २०१८ सम्म २ हजार १ सय हेक्टर धानखेतका लागि उपयुक्त जमिनमा घर बनिसकेको छ। सरकारले ल्याएको भू–उपयोग ऐन २०७६ मा भूमिको नौ प्रकारले वर्गीकरण गर्न भनिएको छ। जसमा कृषियोग्य भूमि भनेर वर्गीकरण गरिएका ठाउँमा घर लगायत संरचना गर्न नपाउने उल्लेख छ। यस्तो भूमि खरिद-बिक्री गर्नु परे पनि कृषि प्रयोजनका लागि मात्र गर्नुपर्छ।
तर पोखरामा भूमि ऐनअनुसार जमिन वर्गीकरण भएको छैन। मेयर जिसी पनि अहिले भूमिको वर्गीकरण गर्ने योजना नरहेको बताउँछन्।
खेतीयोग्य जमिनमा घर भरिँदै जाँदा पोखरेली जेठोबुढो धान विस्थापित हुने खतरा बढ्दै छ। समयमै भूमि वर्गीकरण नभए पोखराबाट जेठोबुढो धान नै लोप हुने अनुसन्धाताहरू बताउँछन्।