कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेकोले दुख व्यक्त गरेको छ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले दुख व्यक्त गरेको हो।
गत वर्षको तुलनमा यस वर्ष १ लाख २० हजार मेट्रिक टन मल थप गरेपनि विश्वव्यापीरूपमा फैलिएको कोरोनाको कारण मल ल्याउन नसकको बताएको छ।
‘धान रोपाइँको बखत आवश्यक पर्ने डिएपी मल पर्याप्त मात्रामा भएपनि टप ड्रेसिङ गर्ने बेलामा आवश्यक पर्ने युरिया मल कोरोनाको कारण ल्याउन सकिएन। जे सुकै कारणले भएपनि किसानले भोग्नु परेको असुविधा प्रति मन्त्रालय परिवार दुख व्यक्त गर्दछ’, मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
आगामी दिनमा धानबालीका लागि आवश्यक पर्ने युरिया मलमा अभाव नहोस् भन्ने कुरामा मन्त्रालयले प्रयासरत रहेको छ।
मन्त्रालयकाअनुसार साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत आयात हुने ३२ हजार १ सय ९० मेट युरिया मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरू भएको छ। एकसाता भित्र मल नेपाल भित्रन थाल्ने छ। त्यसपछि लगत्तै कृषि सामाग्री कम्पनी मार्फत आयात हुने अर्को लटको युरिया मल आउने क्रममा रहेको छ।
त्यसपश्चात मलको आयात, आपूर्ति र वितरणमा सहज हुने छ।