पोखरा ३२ खोलाको छेउस्थित राज सुवेदी स्टोर्सबाट विभिन्न प्रकारका भाँडा विक्री हुन्छ।
उक्त पसलबाट रासायनिक मल समेत विक्री वितरण भएको भेटियो। जिल्ला प्रशासन कार्यालयले बिहिबार गरेको अनुगमनमा पसलमा केही डिएपी मल भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।
उक्त पसलबाट गत असारमा पनि मल विक्री गरेको संचालक राज सुवेदीले बताए। जबकि उनको पसललाई रासायनिक मल विक्री वितरण गर्ने अनुमति नै छैन। उनले पोखराकै पावरहाउसस्थित रुद्र केसीको भेटनरीबाट मल खरिद गरेर विक्री गरेको बताए।
प्रशासनले बिहीबार मात्र यो सहित केही पसल र कृषि सहकारीहरुको पनि अनुगमन गरेको थियो। कृषि सहकारीले व्यवस्थित रुपमा बिल नराखेको, खाद्यान्न पसलसँगै रासायनिक मल राखेर विक्री गरेको, मूल्य सूची नराखेको जस्ता कैफियत भेटिएको सहायक सिडियो ढकालले बताए।
‘हामीले उहाँहरुलाई सुधार गर्न चेतावनी दिएका छौं,’ उनले भने, ‘सुधार नभए कारबाही हुन्छ।’ अनुमति नलिइ मल बेचिरहेका व्यवसायीलाई पनि अबदेखि मल विक्री वितरण नगर्न चेतावनी दिएको उनले बताए। कृषि सहकारी मल विक्री गर्दा मापदण्ड नअपनाएको पाइएको समेत उनले बताए।
सहकारी संस्थाले भने निजी पसललाई मल विक्री गर्न नदिएको जनाएको छ। ‘हामीले किसानलाई दिन्छौं,’ एक कृषि सहकारीका मल विक्रेताले भने, ‘कोही किसान बनेर आउँछ भनेर त हामीले के जानम्।’
पोखरामा खाद्यान्न पसलदेखि भाडा पसलसम्म छ्याप्छ्याप्ती मल पाइएको र कालोबजारी भएको सामाचार प्रकाशित भएपछि प्रशासनले अनुगमन गरेको हो।
कृषि मन्त्रालयबाट समाचार प्रति ध्यानाकर्षण भएपछि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अनुगमन गरेको एक अधिकृतले बताएका छन्।
पोखरामा साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत यही भदौ १४, १५ र १६ गते १ सय ७९ टन मल विक्री वितरण भएको कर्पोरेशनका पोखरा प्रमुख सुरेशराज भण्डारीले बताए।
उक्त मल कृषि सहकारी र रासायनिक मलका आधिकारीक विक्रेता मार्फत विक्री गरेको उनले बताए। कर्पोरेसनले कास्की, तनहुँ, लमजुङ र स्याङ्जामा मल वितरण गरेको उनले बताए।