मल ल्याउने जिम्मा पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमै मल ल्याउन सकेका छैनन्। मल ल्याउनलाई दिइएको ठेक्का सम्झौता सकिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडले गत वैशाख दोस्रो साता शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग २५/२५ हजार टन रासायनिक मल ल्याउन ठेक्का सम्झौता गरेको थियो।
दुवै कम्पनीले अहिलेसम्म एक बोरा पनि मल ल्याउन सकेका छैनन्।
समयमै मल नआएपछि किसान चिन्तित अवस्थामा छन्। साल्ट ट्रेडिङले ल्याएको थोरै मल देशभरका किसानलाई पुर्याउन गाह्रो भएको छ।
किसानको प्रतिनिधि कृषि तथा पुशुपंक्षी विकास मन्त्रालय भने यस विषयमा मौन छ।
मल ल्याउन नसकेका ठेकेदारलाई कारबाही गर्ने की के गर्ने भन्ने विषयमा मन्त्रालयले केही निर्णय नगर्ने मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले जानकारी दिए।
‘मल ल्याउने जिम्मा हामीले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई दिएका छौं, उनीहरूले ठेकेदारलाई जिम्मा दिन्छन्। ल्याउन नसके कारबाही पनि उनीहरूले नै गर्छन्,’ सचिव भारीले बताए।
कृषि सामाग्री कम्पनीले मल नल्याउने कम्पनीलाई के गर्ने भनेर राय मागे मन्त्रालय राय मात्र दिने उनको भनाइ छ।
ठेकेदारलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक नेत्र भण्डारीले बताए।
‘के गर्ने भन्ने विषयमा हामी अहिले मिटिङ बसिरहेका छौं, बेलुकासम्म निर्णय हुन्छ,’ उनले भने।