युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन्। धानबालीमा मल हाल्ने समय हुँदा समेत बजारमा नपाउँदा किसानहरु मर्कामा परेका हुन्।
कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन बिहानैदेखि लाइनमा बस्ने गरेका छन्। कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा चितवनमा किसानलाई आफ्नो स्वास्थ्यको जोखिमभन्दा मल नपाउने चिन्ताले सताएको छ।
बिहान ४ बजेबाट नै मल लिनका लागि लाइनमा बसेको बताउने स्थानीय विकास कोइरालाले महामारीभन्दा पनि मलको संकटले चिन्ता थपेको बताए।
गत वर्षमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल विक्री भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै विक्री गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले बताए।
चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल विक्री हुँदै आएकाेमा यो वर्ष पनि किसानले पर्याप्त मल प्राप्त गर्न नसकेको उनले बताए।
चितवनमा कुल मागको ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ। साल्ट ट्रेडिङले मल ल्याएर बिक्री गरेता पनि कृषि सामाग्रीले बिक्री गर्न नसक्दा अभाव भएको हो।
मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै छ। कोरोना महामारीको बहानामा देशभर मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन्।
नेपाल सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ। अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो।