चितवनको रत्ननगर नगरपालिकाका किशोर बगाले दूध व्यवसायी हुन्। दूध बेचेरै उनी घर व्यवहार चलाउँथे। उद्योगीले दूधको पैसा नदिँदा केही महिनादेखि भने आफूलाई घर चलाउन गाह्रो भएको उनले गुनासो गरे।
‘असारदेखि नै उद्योगीले पैसा दिएका छैनन्, रासन पानी नै उधारो ल्याएर चलाएको छु,’ उनले सेतोपाटीसँग भने, ‘हामी दूध बेचेरै बाँच्ने हो, पैसा नआएपछि त गाह्रो भइहाल्छ नि।’
किसानले पहिलेझैँ आफूले दूध बेचेको पैसा उद्योगीसँग माग्न पनि सकेका छैनन्। पैसा माग्दा दूध नै नलगिदिने पो हुन् कि भन्ने उनीहरूलाई डर छ।
‘पैसा माग्दा बजारमा दूध बिकेको छैन, पैसा उठेको छैन भन्छन्,’ उनले भने, 'पहिलेको पैसा नदिई दूध दिदैनौं भन्ने पनि आँट आउँदैन।’
उद्योगीले पैसा नदिँदा गाईलाई दाना चोकर हाल्नसमेत कठिन भएको उनले गुनासो गरे।
बजार बन्द भएका कारण उद्योगीले पहिलेको तुलनामा दूध संकलन पनि थोरै गरेको उनको भनाइ छ।
उनको फार्ममा ३० वटा गाईले जातअनुसार १२ देखि ६ लिटरसम्म दूध दिन्छन्। दैनिक लगभग १ सय ५० लिटर दूध बेच्छन्। महिनामा १ लाख रूपैयाँसम्म आम्दानी हुँदा उनलाई घर व्यवहार चलाउन कुनै मुस्किल थिएन।
उनकाअनुसार उनले हालसम्म १२ हजार लिटरजति दूध बेचेका छन्। उद्योगीले औसत प्रतिलिटर ५० रूपैयाँ दिन्छन्। करिब ३ लाखजति उनले उद्योगीसँग लिन बाँकी छ।
उक्त पैसा पाएपछि पहिला रासनको ऋण तिर्ने उनको सोंच छ।
लकडाउन भएदेखि नै किसानलाई दूधको पैसा दिन नसकेको हरिहर दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष विष्णु पुरीले बताए।
‘एक लाख दिनुपर्ने किसानलाई १५-२० हजार दिनु परेको छ, त्यति नि के दिएको भन्नु,’ उनले भने, 'उद्योगीले पैसा नदिँदा किसानलाई पैसा दिन सकिएको छैन।’
किसान कि दाना देऊ कि पैसा देऊ भन्दै आउने गरेको उनले बताए।
‘दूध बेचेको पैसा नपाएपछि किसानसँग दाना किन्ने पनि पैसा हुँदैन कि दाना देऊ कि पैसा देऊ भन्दै किसान आउँछन्। उद्योगी दूध बिकेको छैन अहिले कसरी पैसा दिन सक्छौं भन्छन्,’ उनले भने, ‘हामी पो बीचमा पर्यौं।’
सहकारीमा साढे ३ देखि ४ सय किसानबाट दैनिक १२ सय देखि १५ सय लिटर दूध संकलन हुन्छ।
केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको बताए।
‘एकातिर किसानको दूध बिक्री भइरहेको छैन भने अर्कोतिर बिक्री भएको दूधको भुक्तानी पाएका छैनन्,’ उनले भने।
डेरी उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा भएपनि उद्योगीहरुले किसानको दूध खरिद नगरेको उनले बताए। उनका अनुसार कोरोना महामारीका कारण किसानको दूधमा ३० प्रतिशत ह्रास आएको बताए।
देशभरिका सहकारीमा ६ लाख लिटर दूध संकलन हुन्छ, त्यसमा अहिले साढे ४ लाख लिटर दूध उत्पादन-संकलन हुन्छ।
किसानलाई समस्यामा नपारी दूध संकलन गरेर पाउडर बनाएर राख्न उनले उद्योगीहरूलाई आग्रह गरेका छन्।
‘किसानको दूध उठाउन छोड्नुभन्दा अहिले किसानको दुध लिएर पाउडर बनाएर राख्दा हुन्छ। कोरोनापछि सहज अवस्थामा आउँदा बेच्न सकिन्छ,’ उनले भने।
दैनिक ६२ लाख दूध उत्पादन हुनेमा हाल ३१ लाख दूधमात्र बजारमा जाने र बाँकी किसानले आफैं उपभोग गर्ने गरेको नेपाल डेरीका महासचिव प्रलाद दाहालले बताए।