तीव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ।
उत्पादनका हिसाबले उर्बर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ। तर उर्जाशील व्यक्तिले यही कंक्रिटको राजधानीमा घरको कौशीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन्।
बढ्दो शहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुश्किल पर्ने उपत्यकामा अहिले कतिपयले घरको छतमै फलफूल र तरकारी खेती गरेर लाखौ आम्दानी गरिहेका छन्।
केही समय अघिसम्म आफ्नो आवश्यकता अनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रागन फ्रुट फलाइरहेका छन्। ड्रागन फ्रुटको खेतिले कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यान्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी बासुदेव ढकालले बताए।
खेतियोग्य जमिन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेति गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उनले बताए। रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट, अरु फलफूलभन्दा सहज र बजारीकरणका लागि सरल हुने उनको भनाई छ।
वर्षेनि ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेति विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत केही सम्बोधन गर्न खोजेको उनले बताए। राष्ट्र बैंकले समेत मौद्रिक नीति मार्फत विशेष गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेति प्रवद्र्धनका लागि कार्यक्रम ल्याएर सहयोग गरेको उनले बताए।
कोरोनाले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ। काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ। लाखौले रोजगारी गुमाएका छन्। यस्तो फुर्सदिलो बेला घरको छतमा थोरै लगानीमा ड्रागन फ्रुटको खेतितर्फ लाग्न सोच्ने कि?