सुदूरपश्चिमका किसान यतिबेला रायासनिक मल नपाएर समस्यामा परेका छन्। एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ। मल नपाउँदा धान उत्पादन नै नहुने हो कि भन्ने चिन्तामा किसान छन्।
धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ। एकातिर कोरोना भाइरस संक्रमणको जोखिम, अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसान जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ।
मल किन्न बिहानैदेखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ। कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ।
अहिले मल आपूर्ति गरिरहेका दुवै निकायमा मलको मौज्दात छैन। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले कम्पनीले आपूर्तिको ३० प्रतिशत जिम्मा पाए पनि अहिले धनगढी शाखामा मलको मौज्दान शून्य भएको बताए।
उनले वीरगन्जमा ३४ हजार मेट्रिक टन युरिया आएको र त्यसमध्ये १० प्रतिशत (३ हजार २ सय मेट्रिकटन) सुदूरपश्चिम प्रदेशको लागि छुट्याइएको बताए।
उक्त मलमध्ये अहिलेसम्म ७ सय मेट्रिकटन आइसकेको र बाँकी मल आउने क्रममा रहेकाले किसानलाई सकेसम्म सहज वातावरणमा मल उपलब्ध गराउन लागिएको उनको भनाइ छ।
मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ। तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ। जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन्। यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समस्या नयाँ होइन। यो समस्या हरेक वर्ष देखिँदै आएको छ।
सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलैरै मलको खोजी गर्न बाध्य भएका छन्।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ को प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गरे।