कैलालीको धनगढी उपमहानगरपालिका-३ बडहराकी ३६ वर्षीया अनिता केसी भैंसी पाल्छिन्। भैंसी पालेरै उनले राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार पाइसकिन्। सुदूरपश्चिमको क्षेत्रीय उत्कृष्ट कृषि पुरस्कार पनि पाएकी छन्।
अनिताको उद्यम हेर्न अहिले सरकारी कार्यालयका कर्मचारी आइरहन्छन्। उनी पनि आफ्नो गोठ हेरेर दंग छिन्।
झन्डै १४ वर्षअघि उनले एउटा भैंसी पाल्न सुरू गरेकी थिइन्। एउटा भैंसीबाट डेरी र फार्मसम्मको यात्रामा उनले निरन्तर सफलता पाइरहेकी छन्।
अनिताकी आमा सानैमा बितेकी थिइन्। बुवा ड्राइभर थिए। २०५९ सालमा कक्षा १० पढ्दै गर्दा बिहे गरेपछि पढाइ छोड्नुपर्यो। उनले बिहे गर्दिनँ, पढ्छु भन्न पनि सकिनन्।
श्रीमानको संयुक्त परिवार थियो। चार वर्ष उनी बुहारी मात्र भएर बसिन्। घरायसी काममै व्यस्त हुन्थिन्।
'ससुरा सरकारी जागिरे हुनाले घरका सबै उहाँकै तलबले चलेका थियौं,' उनले भनिन्। त्यसबेला उनका घरमा दूध खान पालेको एउटा भैंसी थियो। गोबर फाल्ने, घाँस काट्ने, दुहुने उनको काम हुन्थ्यो।
२०६३ सालमा श्रीमान अंश लिएर छुट्टिए। उनको भैंसी पनि छुट्यो। श्रीमान र उनी दुवै बरोजगार थिए। अब घरै बसेर केही हुँदैन भनेर उनका श्रीमान मलेसिया जान तयार भए।
अनिताले नजानु भन्ने आधार पनि थिएन। छिमेकका अरू पनि विदेश गएकै थिए।
'बाहिरबाट कमाइ गर्नेहरूले उता जेजस्तो दुःख गरे पनि घरगाउँतिर फलानो त विदेशमा छ भन्ने चलन छ। त्यही इज्जतिलो मानिन्थ्यो। त्यसैले उहाँ पनि जानुभयो,' अनिताले भनिन्।
श्रीमान विदेश जाँदा एक लाख रूपैयाँ खर्च लागेको थियो। उनले महिनाको २० हजार तलब पाउने भए। यता नयाँ घरमा एक्लै अनितालाई घरखर्च चलाउन श्रीमानले कहिले पैसा पठाउलान् भनेर पर्खनु पर्यो। अप्ठ्यारो पनि लाग्न थाल्यो। उनले कसरी आफैं पैसा कमाउने भनेर सोच्न थालिन्।
'भैंसी पालेर दूध बेच्ने आइडिया आयो। सानोतिनो खर्च जुट्छ भन्ने सोचेर १८ हजारमा एउटा भैंसी किनेँ,' उनले भनिन्।
दूध बिहानै धनगढीका होटल र पसलमा बेच्न थालिन्, 'गाउँमा अरूले पढाइ छाडेर बिहे गरेकी, अहिले दूध बेच्न जान्छे भन्लान् भन्ने डरले अँध्यारोमै बेचेर फर्किसक्थेँ।'
यसै गरी उनले तीन वर्षमा दुइटा भैंसी थपिन्।
'एउटा पाडो बेचेँ र जम्मा भएको पैसाले अर्को किनिहालेँ,' उनले भनिन्। अर्को भैंसी श्रीमानले पठाएको पैसाले किनिन्।
२०६७ सालमा उनका श्रीमान रतन केसी मलेसियाबाट फर्के। श्रीमानको कमाइ पनि पशुपालनमै लगाउने उनको सोच थियो। रतन भने यस्तो व्यवसायले राम्रो कमाइ नहुने भन्दै उनलाई समेत नगर्न भन्थे।
'मैले यो भैंसी पालेर के हुन्छ होला भनेर नगरौं पनि भनेँ,' रतनले भने, 'व्यवसाय गर्नेभन्दा पनि जापान जाने सोच बनाएको थिएँ।'
अनिताको भने भैंसीपालनमै लाग्नुपर्छ भन्ने अडान थियो। उता रतनको जापानको भिसा पनि लागेन। जापान जान नपाएपछि उनले विदेश जाने रहर त्यागे। अनिताले पनि विदेशको रहर छोड्न भन्दै बुझाइन्।
अनि बैंकबाट कर्जा लिएर १२ वटा भैंसी थपिन्। ठूलो गोठ बनाइन्। रतन पनि यही काममा लागे। २०७१ सालमा अनिताले आफ्नै नाममा भैंसी फार्म दर्ता गरिन्।
उनीहरू दैनिक सय लिटर दूध बेच्न थाले। त्यसबेला लिटरको ४० रूपैयाँमा ब्रिकी हुन्थ्यो। तर अरूका डेरीमा लगेर बेच्न समस्या हुन थाल्यो। गर्मीमा त दूध किनिदिन्थे, चिसो मौसममा खपत भएन भनेर लिन्थेनन्। त्यसपछि अनिताले धनगढी चौराहामा आफ्नै डेरी पनि खोलिन्।
'डेरी पनि खोलेपछि झन् राम्रो आम्दानी हुन थाल्यो,' उनी भन्छिन्। डेरीमा आफ्नो फार्मको सबै दूधले नपुगेपछि किसानका दूध पनि किन्न थालिन्। त्यस बेला श्रीमानले डेरी हेर्थे उनले फार्म। एक्लै फार्मको काम नभ्याउने भएपछि उनले चार जना कर्मचारी राखेकी छन्।
२०७२ सालमा क्षेत्रीय पशु कार्यालयका मान्छे आएर उनलाई एउटा कार्यक्रमको निम्ता दिए। डडेल्धुराको तुफानडाँडामा हुने कार्यक्रम थियो। उनी गइन्। सैयौं कृषकको उपस्थिति थियो। त्यो कार्यक्रमको मञ्चबाट उनलाई उत्कृष्ट कृषक भनेर पुरस्कार लिन बोलाइयो। राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाउँदा उनलाई आफैंप्रति गर्व लाग्यो।
आफूले वर्षौं लगाएर गरेको संघर्षको पुरस्कार पाएकामा उनको मन भरिएको थियो। २०७३ सालमा सुदूरपश्चिमभरिको उत्कृष्ट कृषक भएर प्रमाणपत्र र नगद पुरस्कार पाइन्।
पुरस्कारहरूले उनमा थप हौसला र चिनिने मौका मिल्यो। समाजका मानिसहरू उनलाई मान्न थालेका छन्। कसैले राम्रो कृषि गर्ने को छ भन्यो भने छरछिमेकीले आफ्नै नाम लिने गरेको उनलाई थाहा छ।
घरपरिवार समाज र सरकारकै हौसलाका कारण उनले आफ्नो व्यवसाय अझ ठूलो बनाउने सपना देखेकी छन्। यता जिल्ला प्रदेशतिरको पुरस्कार पाए पनि केन्द्रीयस्तरमै चिनिने गरी व्यवसाय अघि बढाउने मन छ।
पुरस्कार पाएको केही समयपछि उनले श्रीमानसँग सल्लाह गरेर बैंकबाट एक करोड ऋण लिइन्। ६५ वटा भैंसी र ३५ वटा गाई गरी फार्ममा एक सय पशु पाल्न थालिन्। गाईभैंसीलाई चाहिने दाना पानीका लागि दुई बिघा आफ्नै जमिनमा घाँस लगाउन थालिन्। अरू १० बिघा जमिन लिजमा लिएर त्यसबाट पनि घाँस लिन्छिन्।
हिजो विदेशमा अर्काको काम गर्नुपर्दाको समय सम्झँदा उनका श्रीमान रतनलाई अहिले निकै खुसी लाग्छ।
'पहिले अरूकोमा काम गर्ने म आज आफैं मालिक बनेर काम गरिरहेको छु,' उनले भने।
अब उनी पनि कुखुरा व्यवसाय सुरू गर्ने तयारीमा छन्। श्रीमतीलाई 'यसो नगर उसो गर भनेर' आफूले मात्र भनेको मान्नुपर्ने भए आज यहाँसम्म पुगिने थिएन जस्तो उनलाई लाग्छ।
'केही कुरामा उनी मभन्दा जानकार छन्। उनका कुरा मैले सुन्छु। मलाई व्यवसाय गर्न उनले सिकाउँछिन्,' उनले भने।
अहिले उनको फार्ममा कृषि गर्न चाहनेहरू सिक्न आउँछन्। अनितालाई देशभरिका विभिन्न ठाउँमा तालिम दिन पनि डाक्छन्। अनिताले दैनिक २५० देखि ३०० लिटर फार्मको दूध बेच्न सकेकी छन्। अरू किसानले पनि उनको डेरीमा २०० लिटर दूध बेच्न आउँछन्।
उनको उद्यम देखेर राष्ट्रिय वाणिज्य बैंकले बिना धितो १० लाख ऋण उनलाई दिएको छ। गत वर्ष प्रदेश सरकारले दश लाख दिने भने पनि तीन लाख अनुदान दिएको छ। अरू पनि केही पैसा थपेर अनिता अर्को व्यवस्थित गोठ बनाउन लागेकी छन्।
अहिले भान्जा र दिदीभिनाजु पनि उनीहरूसँगै डेरीको काम गर्छन्। उनको फार्मममा काम गर्ने चार जनाले महिनाको १२ देखि १५ हजार तलब र खानेबस्ने सुविधा पाउँछन्। एकजना दुहुने मान्छे र अर्की महिला पनि जागिर गर्न आउँछिन्।
अहिले अनिताले कर्मचारी तलबलगायत सबै खर्च कटाएर मासिक ४० हजार बचत गर्छिन्।
आफ्ना फार्मका मुर्रा जातका भैंसी अरूलाई बेच्न पनि थालेकी छन्। बिउका लागि एक साँढे र एक राँगो पनि उन्नत जातको पालेकी छन्। अझै कृषि कर्जा लिएर सय जति गाईभैंसी थप्ने योजना उनको छ।
उनलाई व्यवसाय गर्न समस्या नभएको होइन। स्वदेशमा उन्नत जातका पशु नपाउँदा भने दिक्कै लाग्छ, 'यहाँ उन्नत भैंसी पाइँदैन भन्ने सबैलाई थाहा छ तर सरकारले भारतबाट ल्याउन पनि दिँदैन। अनि कसरी व्यवसाय गर्ने?'
पोहोर दुई पटक भारतबाट किनेर भैंसी ल्याउँदा सशस्त्र प्रहरीले समातेको उनले सुनाइन्।
'यहाँ भैंसी नपाएर भारतबाट एक/एक लाख हालेर किनेँ,' उनले भनिन्, 'नाकावारि ल्याएपछि प्रहरीले भैंसीको बिल देखा भन्छ।'
उनले एक-दुइटा भैंसी पाल्ने किसानसँग किनेकी थिइन् जसले फार्म दर्ता गर्दैनन्। बिल पनि दिन सक्दैनन्। प्रहरीले भैंसी भन्सार कार्यालयलाई बुझायो।
'क्वारेन्टाइन जाँच गरी निरोगी र पाल्न योग्य भए मलाई दिनपर्ने, योग्य नभए मारी दिनुपर्ने हो। तर भन्सारलाई भैंसी किन दिइन्छ?' उनको प्रश्न छ।
भन्सार कार्यालयले पक्रिएका भैंसी पाल्न एक दिन पनि सक्दैन। त्यही दिन लिलाम गर्छ। त्यो बेला उनले आफ्नै भैंसीलाई थप एक लाख १० हजार प्रतिगोटामा दरले लिलाम बोलेर ल्याइन्।
'भन्सारलाई एक लाख र कृषकलाई एक लाख बुझाउन पर्योl भैंसीको मूल्य २ लाख १० हजार पुग्यो,' उनले भनिन्, 'मैले त्यो लगानी उठाउन कति गाह्रो होला?'
कृषि प्रधान देशमा एउटा भैंसी किनेर ल्याउन पनि नसकेपछि उनलाई दुःख लागेको छ। सरकारले व्यवस्थित पशु क्वारेन्टाइन बनाएर चेकजाँच गरी पास भए कर नदिई ल्याउन दिनुपर्ने उनको माग छ।
देशभित्र पनि सजिलो नभएको उनले बताइन्।
'यहाँ एक जिल्लाबाट अर्को जिल्लामा भैंसी किनबेच गर्न पनि वडाको सिफारिस, के-के भनेर दुःख दिन्छन्,' उनले भनिन्।
पशुपालनबाट राम्रो आम्दानी र बजार पनि छ। तर राज्यले व्यवसाय गरिरहेकालाई 'ब्याक सपोर्ट' दिनैपर्ने उनको भनाइ छ।
'व्यवसाय गरिरहेकालाई त यस्तो समस्या छ भने नयाँ आउनेलाई के होला? राज्यले कृषकलाई सहयोग गर्ने नीति नै छैन,' उनले भनिन्, 'सरकारले घरजमिन नहुनेलाई देशमै कृषि गर भन्छ। भन्दैमा हुन्छ र? भारत जान कसरी रोकिन्छ?'
त्यही पनि पैसा कमाउन विदेश जानुभन्दा यहीँ केही गर्न उनको सुझाव छ। सरकारको नीति पनि फेरिँदै जाला। अहिले भने सरकारले दिएर व्यवसाय गरौंला नसोची सानोसानो व्यवसाय गर्दै अघि बढ्न उनले सुझाव दिन्छिन्।
'पहिले त एक पाइला चाल्नुपर्यो। एकैचोटी फड्को मारेर हुन्न। विदेश गएर भन्दा यहीँ सानोतिनो गर्दै त्यसैलाई अलि ठूलो बनाउँदै जानुपर्छ,' उनले भनिन्।