विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको मारमा परेका दूध किसान पछिल्लो समय गाईमा देखिएको नयाँ रोग ‘लम्पी स्किन रोग’बाट प्रभावित भएका छन्।
नेपालमा पहिलो पटक साउनमा परिचित भएको यो रोग हालसम्म १५ जिल्लाका ५० हजार गाईमा देखिएको पशु सेवा विभागले बताएको छ।
यसैगरी यो रोग फैलदैं जाने हो भने दूध उत्पादन घटेर विदेशीमा भर पर्नुपर्ने विज्ञहरू बताउँछन्।
यो भाइरसले रोगसँग लड्ने क्षमता प्रभाव पार्ने भएकोले निको हुन गाह्रो हुने चितवन–रत्ननगरपालिकाका स्वास्थ्य शाखाका भेटनरी डां शैलेन्द्र भण्डारीले जानकारी दिए।
‘हामीले प्रत्येक किसानको गोठगोठमा गएर हेरिरहेका छौं, यसको उपचार गर्न सकिएको छैन,’ उनले भने।
उनी नेपालमा यसको लागि कुनै ठोस उपचार नभएको बताउँछन्। यसको लागि भेटनरी प्राविधिकको सल्लाहमै लक्षणअनुसार उपचार गर्नुपर्छ।
‘यो रोगलागेपछि गाईले धेरै दूध दिन सक्दैन, उत्पादन घट्छ,’ उनले भने।
सो नगरपालिकाको मात्रै ७ सय ८ घरधुरीका २९ सय ८२ गाई यो रोगबाट प्रभावित भएको उनले बताए।
गाई बिरामी भएपछि कतिपय किसानलाई घर व्यवहार चलाउनै गाह्रो परेको छ।
‘पहिले दूध नबिकेर पिडामा थियौं अहिले गाई नै बिरामी परेर पिडामा छौं,’ चितवन–राप्ती नगरपालिका बस्ने माधव न्यौपानेले दुखेसो पोखे।
उनले ४ वटा गाई पालेका छन्। ४ वटा गाईले दैनिक २५ लिटर जति दूध दिन्छ। उनले दूध बेचेरै जिवीकोपार्जन गर्दै आएका छन्। तर साउनमा एस्कासी गाईमा यो रोग देखिएपछि उनको कमाइ गरेर खाने बाटो बन्द भएको छ।
यो रोग लागेपछि गाईलाई ज्वरो आउने, दूध घट्ने, आँखामा कचेरा लाग्ने गर्दछ। किरा, लामखुट्को टोकाइबाट यो रोग सजिलै सर्ने भएकाले गाई यो किराको टोकाइबाट जोगाउन पर्ने भेटनरी डा.शैलेन्द्र भण्डारीले बताए।
यो रोगको निदानका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पहल गरिएको पशुसेवा विभागका महानिर्देशक डां वंशी शर्माले जानकारी दिए।
‘यसको लागि अरू कुनै उपाय छैन, भ्याक्सिननै लगाउने हो,’ उनले भने, ‘बाहिर देशमा यसको भ्याक्सिन बनेको छ, किन्नको लागि हामीले मन्त्रालयमा पहल गरेका छौं।