सामाखुशीकी तरकारी व्यापारी सजना राई सँधैजसो आज पनि बिहानै उठेर तरकारी लिन कालिमाटी गइन्। कालिमाटीमा गोलभेडाको मूल्य सुन्दा उनी झस्किइन्।
दुई चारदिन अघिसम्म एक क्योरट गोलभेडा १५/१६ सयले ल्याएकी थिइन्। आज २७ सय देखि ३ हजार भन्दा झस्किनु स्वभाविक हो।
गोलभेडा मूल्य अत्यधिक महंगो भएपछि आफूले गोल्भेंडा नै नलिई आएको बताउँछिन्।
‘कालिमाटी मै एक क्यारेटको २७ सय रूपैयाँ तिरेर ल्याउँदा त हामीलाई नै एक किलो गोलभेडा एक सय १० जति पर्न आउँछ,’ उनले भनिन्, ‘कति बिग्रन्छ, गाडी भाडा झोला कटाउँदा त सावाँ पनि उठाउनै मुश्किल हुने देखेर गोल्भेंडै ल्याइन।’
उनकाअनुसार आज बजारमा गोलभेडा उपभोक्ता मूल्य एक सय ४० देखि १ सय ७० रूपैयाँसम्म छ।
केही हप्ता अघि उपभोक्ता मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रूपैयाँ पुगेको गोल्भेंडा गत हप्ता प्रतिकेजी ८० देखि एक सय रूपैयाँमा झेरेको थियो।
अहिले त्यो मूल्य होलसेलमै पुगेको छ।
एकहप्ताको तुलना गर्दा गोलभेडा मूल्य दोब्बरले बढेको कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकले देखाउँछ।
तथ्यांकअनुसार एकहप्ता अघि ठूलो गोलभेडा अधिकतम थोक मूल्य प्रतिकेजी एक सय रूपैयाँ थियो। त्यस्तै, सानो गोल्भेंडा ४५ रूपैयाँ र टनेलको गोल्भेंडा ५५ रूपैयाँ थियो।
एकहप्ता पछि गोलभेडा मूल्य दोब्बरले बढेको छ। ठूलो गोलभेडा अधिकतम थोक मूल्य प्रतिकेजी १ सय २० रूपैयाँ रहेको छ। त्यस्तै, सानो गोल्भेंडा १ सय र टनेल १ सय १० रूपैयाँ पुगेको छ।
मागअनुरूपको उत्पादन नहुँदा गोलभेडा मूल्य बढेकोे एसएन कृषि फार्मका सञ्चालक रेशम आचार्य बताए।
‘नेपाली बजारमा ५० प्रतिशत भारतीय गोलभेंडा आउँथ्यो, अहिले आउन सकेको छैन,’ उनले भने, ‘त्यही भएर मागअनुसारको उत्पादन नहुँदा गोलभेंडाको मूल्य बढेको हो।’
लकडाउनको सुरूवातमा गोलभेंडाले मूल्य नपाउनु, टप ड्रेसिङका लागि मल नहुनुले पनि उत्पादन कम भई मूल्य बढ्न गएको उनको भनाइ छ।
‘पहिले किसानले मूल्य नपाएकाले अहिले धेरेले लगाएनन्। त्यही माथि मलको पनि अभाव भयो, धेरै उत्पादन हुन सकेन,’ उनले भने।
वर्षातको सिजनमा खुला ठाउँमा गोलभेंडा उत्पादन हुँदैन। टनेलको गोलभेंडामा भर पर्नु पर्ने भएकाले गोलभेंडाको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।
‘वर्षातमा खुल्ला ठाउँमा गोलभेडा उत्पादन हुँदैन, टनेलको गोलभेंडाको लागत बढी हुने भएकाले पनि मूल्य बढेको हो,’ उनले भने।
गाल्भेंडाको मात्र नभई तरकारीमा अत्यन्तै प्रयोग हुने प्याज र आलुको मूल्य पनि बढ्दै गएको छ।