कृषि अभियन्ता एवं कृषकहरुले प्राङ्गारिक कृषिलाई जोड दिनुपर्ने बताएका छन्।
मनमैजु साँस्कृतिक समाजद्वारा शनिबार आयोजित ‘तारकेश्वमा प्राङ्गारिक कृषिको अवस्था र अबको बाटो’ भन्ने बहसमूलक भर्चुअल अन्तक्रिया कार्यक्रममा कृषक तथा कृषि अभियान्ताहरूले सरकारले अबका दिनमा प्राङ्गारिक कृषिमा जोड दिनुपर्ने बताएका हुन्।
कृषि अभियन्ता उद्धव अधिकारीले सरकारको दोधारे नीतिकै कारण प्राङ्गारिक कृषिले नेपालमा गति लिन नसकेको बताए। सरकारले कृषिमा ल्याएको योजना अनुरूप केही काम नगरेको उनको तर्क छ।
‘सरकारले यो वर्ष ११ अर्बको मल किन्ने त भन्यो तर प्राङ्गारिक या जैविक मलका लागि केही योजना बनाएको छैन,’ उनले भने, ‘जब की केही वर्षभित्र नेपालको कृषिलाई जैविक प्रणालीमा लैजाने सरकारकै सोच छ।’
रासायनिक मल नभई जैविक मलको कारखाना घर गाउँमै खोल्न स्थानीय सरकारले लगानी गर्नु पर्ने उनको भनाइ छ।
कृषिलाई प्रकृति, पर्यावरण, उर्जा, शिक्षा र सस्कृतिसँग जाडेर हेरमा मात्र कृषि क्षेत्र उकासिने बताउँदै गएको साठी वर्षदेखि राज्यले बनाएको नीति र आम कृषकबीचको द्वन्द्वकै कारण अहिलेको परिणाम भोग्नु परेको उल्लेख गरे।
‘रासायनिक मल र विषादीहरुको प्रयोगले माटोहरु सिकिस्त भइसकेको अवस्थाले बारीमा गड्यौला, फट्यांग्रा पाइन छोडिसकेको,’ उनले भने, ‘काँठका गोठ मासेर ग्यारेज र गाई छोडेर कुकुर पाल्नु निकै दुखद कुरा हो।’
कृषि अभियान्ता अधिकारीले तारकेश्वरमा खेती गर्ने ठाउँहरु अझै केही वडाहरुमा भएकाले ती वडाहरुलाई बेलैमा प्रोत्साहित गरि कृषिलाई प्राथमिकतामा राख्नु पर्ने औंल्याए।
मन्थनमा अर्थशास्त्री डा. केशव राज खड्काले प्राङ्गारिक शब्द पनि बहुराष्ट्रिय कम्पनीको अर्को रुप भएको बताउँदै सुधारिएको परम्परागत खेती भन्नु पर्ने धारणा राखे।
डा. खडकाले यस्तो प्रविधिबाट उत्पादन भएका वस्तुहरुको परीक्षण र प्रमाणीकरणका लागि आवश्यक ज्ञान र सीप नगरपालिकालाई आवश्यक परे आफू सहयोग गर्न तयार रहेको बताए।
तारकेश्वर नगरपालिकाकी कृषि शाखाकाकी रिता सिग्देलले नगरले कृषि नीति बनाउन लागेको र सोको लागि ५ लाख रुपैयाँ छ्ट्याइएको जानकारी दिइन्।
कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले बहसमुलक मासिक नियमित छलफल, मन्थनमा तीन महिनादेखि हरेक महिनाको पहिलो शनिवार विकास, संस्कृति र साहित्यमा आधारित बहसहरुको आयोजना गर्दै आएको छ।