दुई वर्ष अघिसम्म बारीमै कुहिने बाजुराको स्याउ यस वर्ष जहाज चढेर नेपालगञ्ज र धनगढी पुगेको छ।
बजार नपाएर बारीमै कुहिने चिन्ता बढेपछि स्वामिकार्तिक खापर गाउँपालिकामा फलेको ९० क्विन्टल स्याउ हवाइजहाजबाट नेपालगञ्ज र त्यहाँबाट ट्रकमा शुक्रबार धनगढी पुर्याइएको हो।
कृषि ज्ञान केन्द्र अन्तर्गतको नमूना कृषिगाउँ स्याउ कृषक समन्वय समितिले बाजुराको स्याउ यी दुई सहरमा पुर्याएको हो।
कृषक समन्वय समितिका अध्यक्षसमेत रहेका किसान मनबहादुर रोकायाले सडक मार्गबाट बजारमा पुर्याउन नसकेपछि जहाजबाट स्याउ ल्याउनु परेको बताए।
भरिया, ट्रक र हवाई मार्ग हुँदै ल्याइएको बाजुराको स्याउ धनगढी बजारमा किलोको १५० रुपैयाँमा किन्न पाइन्छ। जबकी भारतबाट आएको स्याउलाई यहाँ किलोको ३ सयसम्म पर्छ।
९० क्विन्टल स्याउ धनगढीसम्म पुर्याउँदाको कथा
यस वर्ष स्वामिकार्तिक गाउँपालिकाले भदौ २० गतेपछि स्याउको मूल्य तोकेर टिप्ने अनुमति दियो।
कृषि ज्ञान केन्द्र, गाउँपालिका र किसानले संयुक्त छलफल गरी ‘ए’ ग्रेडको ५०, ‘बी’ ग्रेडको ४० र ‘सी’ ग्रेडको स्याउको मूल्य प्रतिकिलो ३० रुपैयाँ मूल्य तोकेको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए।
समितिले नै किसानसँग स्याउ किन्यो। २५ गतेदेखि स्याउ टिप्न थाल्यो। तीन दिन लगाएर स्याउ टिपियो। टिप्ने र कार्टुनमा प्याक गर्नेलाई दैनिक एक हजार रूपैयाँ पारिश्रमिक दिएर बिक्रीका लागि तयार गरियो।
यसरी किसानका बारीबाट किनेको स्याउ बजारसम्म पुर्याउन लाग्ने ढुवानी खर्च त्यहाँको कृषि ज्ञान केन्द्रले बेहोरिदिन्छ।
प्याकिङ गरेर तयार स्याउ भरियाले डोकोमा बोकेर वडा नम्बर ३ को ट्र्याक्टर आउन सक्ने ठाउँसम्म पुर्याए।
स्वामिकार्तिक गाउँपालिकाका अरू ४ वडाबाट पनि स्याउ बोकेर यसरी नै वडा नम्बर ३ मा ल्याइयो।
ट्र्याक्टर भएसम्म ल्याउन भरियालाई प्रतिकिलो १० रुपैयाँ दिइएको थियो।
ट्र्याक्टरले पिलुचौरसम्म स्याउ ल्यायो। त्यहाँबाट फेरि मान्छेले बोकेर कर्णालीको झोलुंगे पुल तारे। कुण्ड खोलासम्म मान्छेले नै बोकेर पुर्याए।त्यसपछि फेरि स्याउ ट्याक्टरमा हालेर कोल्टी विमानस्थल पुर्याइयो।
कृषक समन्वय समितिका अध्यक्ष रोकायाका अनुसार कोल्टी-धनगढी उडान सुरू गरेको समिट एअरले स्याउ लगिदिने कुरा थियो। समिटको धनगढी उडान ढिला हुने भयो।
‘दुई दिन विमानस्थलमै त्रिपाल हालेर स्याउ राख्नु पर्यो, चार जना कुरेर बस्यौं,’ रोकायाले भने।
त्यसपछि तारा एअरसँग नेपालगञ्जसम्म स्याउ लगिदिन उनीहरूले अुरोध गरे। प्रति केजी १५ रुपैयाँ भाडा लाग्ने गरी नेपालगन्जसम्म ताराको विमानमा ल्याउने कुरा भयो। एकै पटक ९० क्विन्टल स्याउ ल्याउन भने सकिएन।
‘आधा स्याउ र केही यात्रु पनि ल्याउने गरी कुरा भयो अनि ३ ट्रिप तारा एअरको र अर्को ३ ट्रिप समिट एअरको जहाजमा स्याउ नेपालगन्ज पुग्यो,' रोकायाले भने।
विमानस्थलबाट रिक्सामा स्याउ बजारसम्म लगियो।
‘नेपालगन्जमा केही स्याउ जुम्लाबाट र केही भारतबाट पनि आएकाले खासै बिकेन,’ रोकायाले भने।
नेपालगन्जबाट मिनिट्रकमा स्याउ धनगढीका लागि हिँड्यो। कोहलपुरमा केही व्यापारीले ११ क्विन्टलजति स्याउ उठाए।
कैलालीको अत्तरियामा किसानले २८ क्विन्टलजति स्याउ किनेपछि समितिलाई राहत मिलेको रोकायाले बताए।
‘अत्तरियामा राम्रो साथ पाइयो, उहाँहरूले सक्दो स्याउ लगिदिनुभयो,’ रोकायाले भने।
बाँकी स्याउ धनगढी पुग्यो। धनगढीमा पुगेको स्याउ हिमाली होटलले खरिद गरिदियो।
‘अहिले धनगढी पुगेको सबै स्याउ गैसक्यो, नेपालगन्जमा १२ क्विन्टल जति बाँकी छ,’ उनले भने, 'धनगढी पुग्दा स्याउको मुल्य प्रतिकेजी होलसेल १ सय १० का दरले दियौं।’
उनका अनुसार गाडीको बाटो स्याउ ल्याए ८० रुपैयाँका दरले धनगढी पुग्थ्यो। विमानमा आउँदा ३० रूपैयाँ महंगो भयो।
किसानका बारीबाट स्याउ बजारसम्म पुर्याउँदा लाग्ने ढुवानी खर्च भने बाजुराको कृषि ज्ञान केन्द्रले दिने छ।
‘ढुवानीको बारीदेखि बजारसम्मको सबै खर्च ज्ञान केन्द्रले बेहोर्छ,’ केन्द्रका प्रमुख गोविन्द सिजापतिले भने। यसै पटकको मात्र स्याउ ढुवानी खर्च करिब २ लाखको हाराहारीमा आउने अनुमान गरिएको छ।
तै पनि किसान दंग!
उता किसान भने बारीमा कुहिने स्याउको मूल्य पाएकोमा खुसी नै रहेको गाउँपालिकाका अध्यक्ष शाहीले बताए।
‘२ वर्षअघि बारीमा स्याउ फले पनि बजारको व्यवस्था थिएन,’ शाहीले भने, 'बिक्री नहुँदा पशुलाई खुवाउनु पर्ने बाध्यता थियो। आज कम्तिमा ४० रुपैयाँ किलो बेच्न पाउँदा न्यूनतम लगानी उठाउन पाएर कृषक खुसी नै छन्।'
अहिलेको लटमा स्याउ बेचेका धेरैजसो किसानले पैसा पाइसकेका छन्। पाउन बाँकी भएकाले पनि केही दिनमै पाइसक्नेछन्।
बाजुरामा एक बोटमा तीन क्विन्टलसम्म स्याउ फल्ने गरेको पनि उनले बताए।
‘औसत ४० का दरले हिसाब गर्दा प्रतिबोट १२ हजार जति किसानले कमाउन सक्छ,’ शाहीले भने, 'सय बोट लगाउने किसानले वार्षिक १२ लाखसम्मको स्याउ बेच्न सक्छ।
यस वर्ष गाउँपालिकामा उत्पादन भएको एक सय क्विन्टल स्याउ बिक्री भएको छ।
अझै १४ सय क्विन्टल जति स्याउ बारीमै छ। माघ-फागुनसम्म बाँकी स्याउ बेचिसक्ने तयारी गाउँपालिकाको छ।
गाउँपालिकाका २४ सय घरधुरीमध्ये २ हजारले स्याउ लगाउँछन्। ठूला फर्म र व्यावसायिक भने कमै छन्। अहिले समूहमा खेती पनि गर्न थालिएको छ।
बाजुरामा स्याउ खेती
अहिले बाजुरा जिल्लामा पर्ने कर्णालीपारिका तत्कालिन तीन गाउँ विकास समिति २०२५/३० सालतिर जुम्लामा थिए। त्यसबेला बाजुराका मान्छे अड्डाअदातल र सरकारी काममा लागि जुम्ला जानुपर्थ्यो।
कामले जुम्ला जाने-आउनेहरूले स्याउका बोट ल्याएर बाजुरामा लगाउन थालेको किसानहरू अनुमान गर्छन्।
बाजुरामा व्यवसायिक स्याउ खेती कम मात्रामा हुने गरेको छ।
रोकायाका अनुसार सुरू-सुरूमा फल्छ कि त भनेर जाँच्न स्याउ लगाइएको थियो। स्याउ फल्यो। खेती विस्तार भने भएन।
जिल्लामा स्थापना भएको तत्कालीन कृषि विकास कार्यालयले पछि स्याउका बोट वितरण गर्न थाल्यो। यसपछि स्याउ लगाउने किसान बढ्न थाले।
२०४२ सालतिर नरजंग शाही र मणिजंग शाहीले ५-७ सय बोट लगाए। उनीहरूले स्याउको फार्म नै बनाएर खेती सुरू गरेका थिए।
स्याउ फल्दै गयो। लेकतिर चिसो ठाउँमा गोठ बनाएर स्याउ भण्डार गरिन्थ्यो। गोठमा सल्लाको पिरल, गहुँ/जौको चिलोमा स्याउ राखेर अलि लामो समय बिग्रनबाट बचाउने गरिन्थ्यो।
त्यहाँ उत्पादन भएको स्याउ बिक्रीका लागि भने टाढा जाँदैन्थ्यो।
‘त्यतिबेला छोरीबेटी, आफन्त, गाउँमा आउने सरकारी कर्मचारीलाई नासो दिन बढी काम आउँथ्यो स्याउ,’ उनले भने।
बजार नभएर केही कुहिन्थ्यो त केही गाइगोरुलाई खुवाउँथे। कहिले काटेर सुकुटी बनाएर पछिसम्म खाने गर्थे।
त्यसको अलि पछि गाउँठाउँमा हुने मेला पर्व, जात्रामा डोकोमा लगेर स्याउ बेच्न थालियो।
‘उबेला त रुपैयाँको १०/१२ दाना स्याउ बेचिन्थ्यो,’ उनले भने।
त्यसबेला कृषि पढेका मान्छे कम थिए। सरकारबाट आउने बजेट र कार्यक्रमबारे पनि थाहा हुन्थेन। गाउँसम्म बजेट पुगेन।
२०६५/०६६ सालतिर बल्ल गाउँमा कृषि समूह गठन हुन थाले। समूह दर्ता भएपछि कृषि कार्यालयमा आउने जाने हुन थाल्यो। योजना र बजेटबारे किसानलाई धेरथोर थाहा हुन थाल्यो।
‘समूहमा खेती गर्न थालेपछि उत्पादन पनि बढ्यो,’ उनले भने।
२०७३ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरू भएपछि बाजुराको उत्तरी एक सय हक्टर क्षेत्रमा स्याउको ब्लक क्षेत्र बन्यो।
स्याउका बोटहरूको काँटछाट गर्ने, अनुदान पाउने र खेती गर्ने आधुनिक विधिहरूबारे जानकारी बढ्न थाल्यो।
‘संघीयतापछि यहाँ फलफूलको पकेट, ब्लक बने,’ रोकायाले भने।
गत वर्ष प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम लागु गर्यो। ५० लाख बजेट स्वामिकार्तिक गाउँपालिकामा स्याउ खेतीका लागि भनेर छुट्याइयो।
बजेट आएपछि कृषि ज्ञान केन्द्र, गाउँपालिकाको कृषि शाखा र किसानका समूह मिलेर स्याउका बोट खरिद, कृषि सामग्री आदि वितरणलगायत काम हुन थाले।
कृषक समन्वय समिति त्यसै बेला बन्यो। मनबहादुर अध्यक्ष भए। ५ वडाबाट हरेकबाट एकजना, कृषि ज्ञान केन्द्रबाट एकजना सदस्यसचिव र एकजना स्याउ उत्पादन बढी हुने वडाको गरी सात जनाको समिति बनेको छ।
यस वर्ष त्यही समितिले जहाज बाजुराको स्याउ धनगढी ल्याइपुर्याएको हो। स्याउ ढुवानीमा कृषि ज्ञान केन्द्रले समन्यव गरिदिएको छ।
स्वामिकार्तिक गाउँपालिकामा सात वटा फर्ममा ६ सय बोटका दरले गत वर्ष बिरूवा रोपिएका थिए। यस वर्ष पनि नयाँ सात फार्म थप्ने तयारी रहेको ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतिले बताए।
ज्ञान केन्द्रले सिचाइको व्यवस्था, ट्यांकी बनाउने र पाइप तान्नेजस्ता काम पनि मद्दत गरिरहेको उनले बताए।
‘कोल्डस्टोर बन्ने तयारी छ। स्वामिकार्तिक गाउँपालिकामा कोल्ड च्याम्बर बनाउने सामान पुगेको छ तर काम भने सुरू भएको छैन,’ उनले भने।
त्यहाँ प्रदेश सरकारको ३३ लाख लगानीमा स्याउ प्रशोधन उद्योगको घर बनेको छ।
‘यस वर्ष नै बाँकी सामान ल्याएर सुचारू हुन्छ,’ सिजापतिले भने।
त्यो उद्योगमा स्याउको जुस, जाम, जेली र चाना बन्ने छ।
बाजुराका स्वामिकार्तिक गाउँपालिका, बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा व्यवसायिक स्याउ खेती हुने गरेको छ। गौमुल र हिमाली गाउँपालिकामा यस वर्षदेखि व्यवसायीक स्याउ खेती सुरू हुन थालेको छ।
विज्ञ मान्छे नपाइएकाले सबै किसानहरूलाई तालिम दिन भने सकिएको छैन।