धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ बोराडाडीका किसान पाक्न लागेको धान बचाउन खेतमै रातभर जाग्राम बस्ने गरेका छन्।
जंगली बँदेलले अन्नबालीमा क्षति पुर्याउन थालेपछि किसानहरु रातभर जागराम बस्ने गरेका हुन्। उनीहरु थाली बजाउने, टर्च लाइट बाल्ने होहल्ला गर्ने र खेतबारीमा घुमेर रात कटाउने गरेका छन्।
केही किसान बँदेल धपाउन राति खेतमै बस्नुपर्ने भएपछि उतै छाना समेत बनाएर बस्ने गरेको बताउँछन्। यसअघि लगाएको गहुँ बालीमा समेत बँदेलले धेरै नोक्सान गरेको स्थानीय रोहिनी विष्टले बताइन्।
‘पाक्न लागेको धानमा पनि धेरै क्षति गरेको छ। नोक्सान हुनबाट बचेको धान बचाउन सकिएला कि भनेर रातभर खेतमै जाग्राम बस्छौँ’ उनले भनिन्। बँदेलले खेतको धानबाली खाने, खन्ने कुल्चिने र भाँच्ने गरेको उनले बताइन्।
उनको परिवार आजभोलि हरेक रात बँदेल धपाउन घाँडो बजाएर रात कटाउँछन्। स्थानीय कलसी देवी धानुकले पनि तीन गह्रा धान खाइदिएपछि बँदेल धपाउन खेतमै बस्ने गरेको बताइन्।
मेहनत गरी लगाएको धानबाली बँदेलले सखाप गरेपछि महामारीमा के खाने भन्ने चिन्ता उनको परिवारलाई छ। त्यसैले उनले त्रिपाल हालेर उतै रात कटाउने गरेकी छन्।
स्थानीय धनमती धानुकले धान बँदेलले नष्ट गर्ने चिन्ताले रातभर थाली बजाउने गरेको बताइन्। धनगढी उप–महानगरपालिका–३ मा रहेको डिलासैनी साममुदायिक वनमा बँदेलको वासस्थान छ।
त्यहाँ ठूलो संख्यामा बँदेल रहेको र फागुन चैततिर उनीहरुले पाठापाठी जन्माएको सामुदायिक वनका अध्यक्ष दान बहादुर विष्टले बताए।
‘वनमा खानेकुरा नपाएपछि खेतमा आउँछन्। पाक्न लागेको धान सखाप गर्दैछन्’ उनले भने।
बँदेलले त्यही वडाका शिवनगर टोलका ३०, डिलाशैनी टोलका १२ र वडा नं १३ राजपुरका गरी १ सय किसानको खेतमा क्षति पुर्याएको सामुदायिक वनले जनाएको छ।