मनोहरा तरकारी बजारको एउटै कम्पाउण्डभित्र १ किलो प्याजमा ६० रुपैयाँ मूल्य फरक भेटिएको छ। काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले बिहिवार गरेको अनुगमनका क्रममा सुनापति आलु प्याज सप्लायर्सले प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा व्यापारीबाट जफत गरेको प्याज बुधवार उपभोक्तालाई ६० रुपैयाँ किलोमा बिक्री गरेको थियो। यसलाई आधार बनाउँदा किलोमा ६० रुपैयाँ बढी भेटिएको हो।
त्यही कम्पाउण्डमा रहेको सलेज आलु प्याज भण्डारले प्रतिकिलो ६० रुपैयाँ मात्र रहेको अनुगमन टोलीलाई जानकारी दिए।
मूल्य सुन्नेबित्तिकै उपभोक्ताको भीड लाग्यो। एकैछिनमा भएभरको सबै प्याज सकियो। यो प्याज उनले ४५ रुपैयाँ प्रतिकिलोमा किनेका थिए तर बेचेका थिएनन्।
अरु पसलमा अनुगमन समितिले खरिद बिल मागेको देखेपछि उनले भाउ घटाएर ६० बनाएका थिए।
यी दृष्य हेरिरहका एक उपभोक्ताले भने ‘हिजो बेलुका प्याज किन्न आएको, १ सय ४० रुपैयाँ किलो भनेकाले फर्केको थिएँ। आज त्यही प्याज ६० मा किन्न पाइयो।’
बजार भित्रकै जेनिसा आलु प्याज भण्डारमा प्याजको होलसेल मूल्य १ सय ५ रहेकाे सञ्चालकले बताए।
युपि आलु प्याज भण्डारका सञ्चालकले खुद्रा मूल्य १ सय १५ रुपैयाँ र बोरा किन्दा १ सय ५ रुपैयाँ प्रतिकिलो मूल्य सुनाए।
अनुगमन समितिले तरकारी बजारका सबै होलसेल प्याज व्यापारीलाई कागजात लिएर कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ।
बजारमा अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग भयो। छेवैमा भएका लसुन व्यापारीले आफूहरुलाई होलसेलबाट बिल प्राप्त नहुने बताए। यतिञ्जेलमा एक दुई व्यापारी पसल छोडेर भागिसकेका थिए।
अनुगमन टोलीले बजार क्षेत्रमा पानी वितरण गर्न आएको आक्वा व्रदर ब्राण्डका कुच्चिएका जार नष्ट गरेको छ। जारमा पानी भरिएको मिति उल्लेख थिएन। कतिपय जारबाट पानी चुहिएको थियो।