कुहिने फोहोरलाई प्रशोधन गरी वायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएको गण्डकी ऊर्जा प्रालीले बजार नपाएको गुनासो गरेको छ।
‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा वायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको बताएको हो।
झण्डै एक वर्षअघिबाट कम्पनी सञ्चालनमा आएको भए पनि उत्पादनले बजार पाउन सकेको छैन।
‘अहिले उत्पादित मल र वायोग्यास सबै स्टकमा थुप्रिएको छ। देशमा रासायनिक मल अभाव भएको समयमा समेत प्राङ्गारिक मलले बजार पाएन’ कम्पनीले भनेको छ।
स्वदेशी उत्पादनले उपयुक्त बजार नपाउँदा कम्पनीबाट उत्पादित मलसँगै वायोग्यास बिक्रीमा पनि समस्या भएको हो।
कम्पनीले दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरी दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको दाबी गरेको छ।
कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन्। कम्पनीले विभिन्न क्षेत्रबाट फोहोर संकलन गरिरहेको छ। पोखरा महानगरपालिकाले भने फोहोरको वर्गिकरण नगरेकाले फोहोर लिने नगरेको सञ्चालक कुशल गुरुङले बताए।
अर्ग्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेति गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन्। हाल बजार अभाव भए पनि कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरी अर्ग्यानिक मल उत्पादन गर्दै आइरहेको छ।