उखु उत्पादक संघले विभिन्न माग राख्दै संसदको विकास तथा प्रविधि समिति र उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाइ ज्ञापनपत्र बुझाएको छ।
आइतबार सिंहदरवार पुगेर संघका प्रतिनिधिहरुले २ समितिका सभापतिहरुलाइ ज्ञापन पत्र बुझाएका हुन्।
उखु किसानहरुले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैँअघि नै पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
‘उद्योग पुन सञ्चालन गरी उद्योगका श्रमिक कर्मचारीले पाँच महिनाको तलबभत्ता तथा डेढ बर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ तथा अन्य सेवा सुविधा दशैँअघि नै पाउनुपर्छ,’ ज्ञापन पत्रमा भनिएको छ।
किसानले पाउनुपर्ने रकम ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रहेको बताइएको छ।
ज्ञापनपत्रमा उखु किसान र श्रमिक मजदुरका समस्याहरु पनि उल्लेख गरिएको छ।
‘उद्योगीले समयमै उखु किसानको पैसा नदिँदा विपन्न उखु किसानको समस्या बढ्दै गएको छ। चाडपर्व मान्न र छोराछोरीको पढाइ खर्च जुटाउन समस्या भएको छ। उद्योगमा आश्रित निम्न वर्गका श्रमिकहरु भोकभोकै मर्ने अवस्थामा पुगेका छन्’, उनीहरुले भनेका छन्।