राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले स्थापनाको ४६ वर्षको अवधिमा ४७ जातका गहुँको अनुसन्धान गरिसकेको छ।
तीमध्ये ४४ जातका गहुँको उत्पादन सुरू भइसकेको छ भने तीन वटा जातका गहुँ कार्यान्वयनको लागि कृषि मन्त्रालयमा सिफारिस गरिएका छन्।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका संयोजक वरिष्ठ वैज्ञानिक रोशन बस्नेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा तराई क्षेत्रमा प्रयोगका लागि ‘एनएल १३०७’, ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरिएको थियो।
ती जातका गहुँ कार्यान्वयनका लागि कृषि मन्त्रालयमा सिफारिस गरिएको छ।
कार्यालयले गहुँको जातीय विकास, गहुँसँग सम्बन्धित प्रविधिको विकास, गहुँको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ। तर कीरा र रोगको प्रकोपका कारण नयाँ विकास गरिएको गहुँको जात ८/१० वर्षभन्दा लामो समय टिक्न सक्दैन।
यसअघि अनुसन्धान गरी उत्पादनमा ल्याइएका त्रिवेणी, भाष्कर, लुम्बिनी, सिद्धार्थ लगायतका नयाँ जातको गहुँको उत्पादन राम्रो भए पनि १० वर्षमै यी जातको गहुँ विस्थापित गरिएको छ।
नेपालमा सन् १९६० बाट गहुँ अनुसन्धान सुरू भएको थियो।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका बाली प्रजनक वरिष्ठ वैज्ञानिक दीपक पाण्डे गहुँको जात विकास गर्दा उत्पादन र उत्पादकत्व वृद्धि हुनसक्ने एवं जिंक तथा आइरन बढी भएका जात अनुसन्धान र उन्मोचनका लागि सिफारिस गरिने बताउँछन्।
नेपालको हावापानीसँग सुहाउँदो जातको गहुँ छनोट गरी नेपालका विभिन्न स्थानमा रहेका नार्कका स्टेसनहरूमा जाँच गरिन्छ भने किसानलाई खेती गर्न लगाएर उत्पादन र उत्पादकत्वसमेत परीक्षण गरेपछि कार्यान्वयनको लागि बल्ल सिफारिस गरिने पाण्डेले बताए।
नेपालमा करिब २० वटा अनुसन्धान कार्यालयले गहुँको मूल बीउ उत्पादन गर्दै आएका छन्। तर रोग र कीराको प्रकोपले भने गहुँबाली नष्ट गर्दै आएको किट विज्ञ विनिता शर्मा बताउँछिन्।
पछिल्लो समय गहुँमा पहेंलो र खैरो सिन्दुरे, डढुवा जस्ता रोग र लाइ, सलह, गवाँरो, फौजी, धमिरा जस्ता कीराहरूको प्रकोप बढिरहेको बताइन्।
कार्यालयका अनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुन्छ।
भौगोलिक हिसाबले खेती गर्न तराईका लागि एनएल ९७१, वाणगंगा, बिएल ४३४१, भृकुटी, गौतम जातको गहुँ उत्तम मानिन्छ।
यस्तै, पहाडका लागि स्वर्गद्वारी, धवलागिरी, डब्लुके १२०४ लोकप्रिय जात हुन् भने उच्च पहाडमा डाँफे, पासाङ ल्यामु लगायतको जात उत्तम मानिन्छ।
नेपालमा ९५ प्रतिशतभन्दा बढी किसानले स्वदेशमै उत्पादित विभिन्न जातको गहुँको बीउ प्रयोग गर्ने गर्छन् भने मुलुकभर ७ लाख ६ हजार ८ सय ४३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ।
उत्पादनका हिसाबले धान र मकै पछि गहुँ तेस्रो बाली हो।