सरकारको रासायनिक मल कारखाना खोल्ने निर्णयमा खाद्यका लागि कृषि अभियानले विरोध जनाएको छ।
रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलको प्रयोग गर्नुपर्नेमा सरकारले नै रासायनिक मलको कारखाना खोल्न लागेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
रासायनिक मलको प्रयोगले उब्जाउ योग्य माटो, पानीका श्रोतहरू र पर्यावरणमा भएका जीवहरूमा प्रत्यक्ष रुपमा नकारात्मक असर गर्ने खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारीले बताए।
रासायनिक मलको कारखाना खोल्ने जस्तो सवेदनशील कुरा आवश्यक अध्ययन बिना गर्न नहुने उनले बताए।
यसका लागि लगानी धेरै लाग्ने भएकाले उनले सरकारलाइ जैविक मलमा लगानी गर्न आग्रह गरे।
‘रासायनिक मल कारखाना खोल्न लगानी धेरै लाग्छ। यसले वातावरणमा पनि नराम्रो असर पार्छ,’ उनले भने,‘यो भन्दा जैविक मलमा लगानी गर्दा राम्रो हुन्छ।'
‘प्रकृतिमा नकारात्मक प्रभाव पार्ने कृत्रिम रसायनहरूलाई घटाउँदै आत्मनिर्भर, दिगो र पर्यावरणमैत्री खेतीपातीको सोच बनाउन विश्वव्यापी पहल भइरहेको बेला नेपाल सरकारले गरेको यस्तो हचुवा निर्णयको हामी भर्त्सना गर्दछौं,’ उनले थपे।
सरकारकाे याे नर्णाय स्थापित कृषि पद्धति, संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास लक्ष्य, खाद्य सम्प्रभुता ऐन र संविधानको मर्म विपरित भएको उनकाे भनाइ छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमै कृत्रिम रासायनिक मल कारखाना खोल्नका लागि आवश्यक तयारी गर्न तीन जना मन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।