कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सहकारीहरूले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरिरहेको बताएको छ।
मन्त्रालयको तथ्यांकअनुसार मंसिर ८ गते सम्म नवलपरासी, रुपन्देही र बर्दिया जिल्लाका साना किसान कृषि सहकारीहरुले करिव ४ हजार १० मेट्रिक टन धान खरिद गरेका छन्।
त्यस्तै नवलपरासीमा ५००, रुपन्देहीमा ११३० र बर्दियामा २३८० मेट्रिक टन धान खरिद गरिसकेका छन्। देशभरका साना किसान कृषि सहकारीहरुले ९५ हजार मे. टन धान खरिद गर्ने लक्ष्य राखेका छन्। यसको अलवा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिव ४ हजार ८० मे.टन धान खरिद गरिसकेको छ।
नेपाल सरकारको बाली लगाउनु पूर्व नै प्रमुख बालीहरुको न्यूनतम समर्थन मूल्य तोक्ने नीति अनुसार २०७७ असार २ गतेको मन्त्रिपरिषद्को वैठकले यस आर्थिक वर्षको लागि मोटा धानको प्रति क्वीण्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रति क्वीण्टल २ हजार ८ सय ८५ न्यूनतम समर्थन मूल्य तोकेको थियो।
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई सरकारले खरिद गरेको धानको भण्डारण, सुरक्षा र प्याकेजिङ्ग लगायतका खर्च ब्यवस्थापनका लागि प्रति क्वीण्टल १ सय १२ रूपैयाँ अनुदान दिने व्यवस्था गरेको छ।
तर धानको भण्डारण, प्रशोधन, एवम् बिक्रीको प्रवन्ध भने सम्वन्धित सहकारीले नै गर्नु पर्नेछ।