चार चिनी उद्योगले उखु किसानको पैसा अझै तिरेका छैनन्। श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी उद्योगले गरेर ४८ करोड १० लाख रूपैयाँ तिर्न बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।
मन्त्रालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३५ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ।
मन्त्रालयकी सहायक प्रवक्ता उर्मीला केसीका अनुसार मंगलबार मन्त्रालयले चिनी उद्योगीसँग छलफल गरेको थियो।
अन्नपूर्ण चिनी उद्योगका मालिकले चिनी बिक्री गर्न नपाएको कारण किसानलाई पैसा तिर्न नसकेको बताए। अन्नपूर्णको ५० करोड रूपैयाँ बराबरको चिनी र मोलासिस (उखुको छोक्रा) गोदाममा मौज्दात छ।
श्रीरामको उद्योग बन्द अवस्थामा छ भने लुम्बिनी चिनी उद्योग हकवालाको निधन भएपछि उनका अन्य परिवारसँग सम्पर्क हुन नसकेको सहायक प्रवक्ता केसीले जानकारी दिइन्।
‘हामीले बारम्बार ताकेता गरिरहेका छौँ। उद्योगीले दिन्छु भनेका छन्’, उनले भनिन्।
असोज दोस्रो साता उखु उत्पादक किसानले दशैं अघि नै उखुको पैसा पाउनु पर्ने भन्दै संसदको विकास तथा प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिलाइ ज्ञापनपत्र बुझाएको थियो।
समितिले १ महिना भित्र किसानको पैसा दिन निर्देशन दिएपनि उद्योगीले पैसा नदिएको उखु किसान प्रतिनिधि सफिन्द्र यादवले बताए।
‘हामीले अस्ति मन्त्रालयमा फोन गरेका थियौं, उद्योगीलाई चिठी काट्ने तयारी गर्दैछौं भन्थे,’ उनले भने, ‘यता उद्योगीको पैसा तिर्ने छाँटकाँट नै छैन।’
उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए। केही साताको आन्दोलन पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो।
सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा पाउन सकेका छैनन्।