गाउँ-सहर जताततै केराको माग छ। तर, त्यही केराको व्यावसायिक खेती भने नेपालमा कमै मात्रामा हुने गरेको छ।
त्यो माग धान्न छिमेकी देश भारतबाट केरा आयात हुन्छ। नेपाल केरामा आत्मनिर्भर भयो भनेमात्रै पनि त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ।
‘छिमेकी देशको आयात थोरै कम गर्न सकिन्छ कि भनेर मैले केरा खेती सुरू गरेको हुँ,’ दाङको लमही नगरपालिका वडा नं. २ राजपुरका नारायण भुसाल भन्छन्।
उनको केरा फार्मको नाम ‘ग्रिन एग्रो फर्म इन बिच’ हो। भुसालले १२ बिगाहा जमिनमा केरा खेती थालेको तीन वर्ष पुग्यो। यो वर्षदेखि उत्पादन सुरू हुन थालेको छ। सबै बोटले फल दिन सुरू गरेका भने छैनन्।
तैपनि वैशाखयता उनले झन्डै ४ लाख बराबरको केरा बेचिसके। अहिले पनि उनको बगैंचामा बेच्नलाई केरा तयार छ। उनले कृषि ज्ञान केन्द्र दाङबाट यही वर्ष चार लाख अनुदान पनि पाए।
उनको केरा बगैंचा टापुजस्तो ठाउँमा छ। वरिपरि राप्ती नदीले घेरेको छ। भंगालो फाटेर दुई तर्फबाट राप्ती बगेको छ। जसलाई स्थानीयले सानी राप्ती र ठूली राप्ती भन्ने गर्छन्। त्यही बीचको जग्गा भाडामा लिएर उनले केरा खेती गरेका छन्।
बिगाहाको ३० हजार भाडा वार्षिक बुझाउनुपर्छ। सबै जग्गाको भाडा ३ लाख ६० हजार पर्छ।
सुरूमा जग्गा दस वर्षका लागि भाडामा सम्झौता भएको हो। दुई वर्ष बितेपछि जग्गा धनीसँग फेरि दस वर्षको सम्झौता भएको भुसालले बताए। सम्झौता ९ वर्ष बाँकी छ। यो समयमा मनग्य आम्दानी गर्ने सपना भुसालले देखेका छन्।
भुसालले तीन जातका केरा रोपेका छन्। जिनाइन, विइलियस हाइब्रिड र हस्तिसाल। जिनाइनका बिरुवा पाँच हजार छन्। अन्य दुई जातका केरा भने आसपासका फार्मबाट ल्याए।
भुसालका अनुसार जिनाइन चाँडै फल्छ र फल धेरै लाग्छ। विलियस हाइब्रिड मालभोगजस्तै हुन्छ। मीठो पनि। पहेँलो भएर पाक्छ। हस्तिसाल जिनाइनभन्दा केही ढिलो पाक्छ। तर, ती दुबै केराको बोक्रो हरियो हुन्छ।
केरालाई समयअनुसार रोग लाग्छ। अहिले भुसालको बगैंचामा कतिपय केराको फलमा दाग लागेको छ। यसपटक धेरै वर्षा भयो। उनले औषधी छर्न पाएनन्। त्यसैले, केरामा दाग लागेको छ।
केरा पसाउने समयमा भाइरस पनि लाग्छ। त्यो भाइरसले बुंगामा डल्लो पार्छ। त्यो समस्या पनि समयमै औषधी छरे रहँदैन।
त्यस्तै, अर्कौ समस्या केराको बोट ढल्ने हो। त्यसका लागि टेका लगाउनुपर्छ। फलेपछि कमलो फेद धान्न नसकेर पनि ढल्छ।
वर्षायाममा पसायो भने झनै बढी ढल्ने गर्छ। गत वर्षामा भुसालको बगैंचामा फलेका दुई अढाइ सय केरा ढले।
अधिक वर्षाका कारण केराको बोटमा माथिबाट पानी पस्छ र त्यो बीचमा गएर बस्छ। जसले गर्दा बीचको भाग सड्न पुग्छ अनि ढल्छ। त्यो समस्या समाधान गर्न केराको बोटभन्दा अग्लो टेको लगाएर बाँध्नुपर्दो रहेछ भन्ने अनुभवले सिकाएको भुसाल बताउँछन्।
योबाहेक अन्य कुनै समस्या देखिए उनले केराको तस्बिर खिचेर सम्बन्धित क्षेत्रका विज्ञलाई पठाउँछन्। उनीहरूको परामर्शअनुसार काम गर्छन्।
केराको बोट औसत ४-५ फिटसम्म अग्लो हुन्छ। मालभोग केरा ६ फिटसम्म हुने भुसालले बताए। आफूले केरा रोप्दा एक फिट गहिरो र चौडाइका खाडल खनेको उनले बताए।
दुई वटा बोटबीचको लम्बाइ डेढ मिटर र चौडाइ दुई मिटरको दूरी छ। उनको केरा बगैंचाभित्रै जताततै ट्याक्टर लैजाने मिल्छ। गोडमेल तथा खनजोतका लागि उनले ट्याक्टर नै प्रयोग गर्दै आएका छन्।
खनजोत गरे घाँस पनि उम्रिन पाउँदैन। त्यसभित्र घुसुवा बाली पनि लगाउन सकिन्छ। अधियाँमा यो पटक बदाम र सखरखण्ड लगाउन दिएका उनले त्यसबाट पनि राम्रो आम्दानी गरे। १२ क्विन्टल जति बदाम र २० क्विन्टल सखरखण्ड भागमा आएको उनले बताए।
केराभित्र हलेदो पनि रोपिएको छ। भविष्यमा ठूलो परिमाणमा हलेदो रोप्ने योजना उनले सुनाए।
केरो बढी पानी खोज्ने बिरूवा हो। फागुन महिनादेखि यसलाई अलि बढी पानीको आवश्यकता पर्छ। तर, बिजुली बत्ती नपुगेको हुँदा उनले सोझै राप्ती नदीमा पम्पिङबाट पानी सिँचाइ गर्दै आएका छन्। खेती दुई राप्तीको बीचमा टापु रहेको हुँदा सिँचाइको लागि कुलो चलाउन सम्भव छैन।
त्यसैले, उनी बगैंचासम्म बिजुली ल्याउन हारगुहार गरिरहेका छन्। जनप्रतिनिधिदेखि हरेक नेतालाई भेटेर आग्रह गर्दा पनि काम नभएको उनले गुनासो गरे।
‘बिजुली भए डिपबोरिङ गरेर सिँचाइको प्रबन्ध गर्नहुन्थ्यो,’ भुसालले भने, ‘पम्पिङ सेटले सिँचाइ गर्दा आर्थिक भार धेरै परेको छ।’
अरू बिरूवाजस्तै केरालाई पनि मल उत्तिकै चाहिन्छ। गत साल गाउँकै गाई फार्मबाट ७५ हजारको मल र रासायनिक मल थप ३० हजारको किनेको भुसालले बताए।
केराको बोटमा वर्षमा तीन पटकसम्म मल राख्न सके राम्रो हो।
‘त्यो सम्भव नभए वर्ष दुई पटक त अनिवार्य राख्नुपर्छ,’ भुसालले भने।
वर्षा सुरू हुनुभन्दा पहिला नै बिरूवामा मल राखे राम्रो मानिन्छ। वर्षाको पानीले मल बिरूवाको जरासम्म पुर्याउन मद्दत गर्छ। त्यस्तै, पुस, माघमा दोस्रोपटक मल राख्नु राम्रो मानिन्छ।
मलको समस्या समाधान गर्न अब फार्म क्षेत्रमै भैंसी र बाख्रा पाल्न लागेको उनले सुनाए।
‘कम्तीमा दस वटा दुहुना भैंसी, १५ वटासम्म पाडापाडी पाल्ने योजना छ,’ भुसालले थपे, ‘बाख्रा अलि बढी संख्यामा पाल्ने सोच बनाएको छु।’
बगैंचामा उत्पादन भएको घाँस पनि खेर फाल्न नपरोस् र त्यसबाट दूध, मासु र मल उत्पादन होस् भन्ने उद्देश्यका साथ काम गर्न लागेको उनले बताए।
‘मलको लागि दौडधूप नि नहुने, खर्च पनि नहुने र सहकारीमा लाइन लाग्न जानु नपर्ने उपाय खोज्दै छु,’ उनले भने।
आफूले केरा खेती गरेको टापु (डाँडोको) रूप नै परिवर्तन गर्ने सोच उनीसँग छ। त्यसका लागि केरा खेती विस्तार गरी ३० बिगाहा पुर्याउने लक्ष्य उनले सुनाए।
आसपासका जग्गावालासँग पनि कुरा लगभग भइसकेको छ।
‘अझै थप ४-५ बिगाहामा मालभोग केरा रोप्ने सोच छ,’ भुसालले भने, ‘कतिपय व्यापारी र उपभोक्तासमेत मालभोग छैन भनेर खोज्न आउनुहुन्छ। त्यो माग सम्बोधन गर्न मालभोग जातको केरा रोप्ने योजना बनाएको छु।’
त्यसपछि बचेको जमिनमा ड्रागन फ्रुट, खरभुजा र घाँस लगाउने उनले बताए। हाल ड्रागन फ्रुटको बेर्ना आफैं उत्पादन गरिरहेको जानकारी उनले दिए।
राप्तीको किनारमा बगर खेती राम्रो हुन्छ। त्यसमा पनि खरभुजा बलौटे माटोमा राम्रो फल्छ। तर यो वर्ष उनले खरभुजाको उत्पादन लिन पाएनन्।
‘सुरूमा कडाखाले लकडाउनले गर्दा बाहिर निस्किन पनि पाइएन, चैत-वैशाखको खरभुजा सबै खेर गयो,’ उनले भने।
त्यही अवधिमा भुसालको १ सय २० घरी केरा पनि चोरी भयो। ६० घरीजति बोटमै पाकेर त्यसै खेर गएको भुसालले बताए। केरा खेतीमा हालसम्म ३०-३२ लाख लगानी पुगेको भुसालले जानकारी दिए।
४२ वर्षीय भुसाल पूर्वशिक्षक हुन्। गणितमा बिएड उत्तीर्ण उनले दस वर्ष मावि कोलहीमा राहत कोटामा पढाए। त्यसपछिका थप दुई वर्ष स्थानीय एक बोर्डिङमा प्रिन्सिपल भएर काम गरे। तर, उनको मन रमाएन।
त्यसपछि उनी कृषिप्रति आकर्षित भए। दुई वर्ष केरा हुर्काउन समय लाग्यो। अब लिने फाइदामात्रै हो। उनी नाफा हुन्छ भन्नेमा ढुक्क छन्।
‘एउटा केराको बोटबाट पाँच सय रुपैयाँसम्म कमाउन सकिने रहेछ,’ उनले उत्साहित हुँदै थपे, ‘म्याथ टिचर म आज केराको हिसाब-किताब गरिरहेको छु।’
आफैंमात्रै रोजगार बन्ने हो कि अन्य केही मान्छेलाई पनि रोजगारी सिर्जना गर्ने हो? भन्ने लागेर आफू कृषिमा लागेको उनले तर्क गरे।
बगैंचामै आएर किन्नेले काँचो केरा ४५ रुपैयाँ दर्जन लैजान्छन्। उनीहरू आफैंले छानेर केराको घरी काट्न पाउँछन्। होलसेलमा लैजाने व्यपारीले दर्जनको ३५ देखि ४० रुपैयाँमा केरा लैजाने गरेको भुसालले बताए। तर, त्यसरी लैजाने व्यापारीले केराका घरी छान्न भने पाउँदैनन्। उनीहरूले सबै उठाएर लैजानुपर्ने नियम लागू गरिएको भुसालले बताए।
आफूले नहेर्ने हो भने लगानीमात्रै गरेर कृषि नहुने उनको बुझाइ छ।
‘आफैं ध्यान नदिने हो भने अर्काको भरमा खेती राम्रो हुँदैन,’ भुसालले भने, ‘प्रविधिको प्रयोग भरपूर गर्न सक्नुपर्छ। मानिस लगाएर काम गर्दा धेरै महंगो पर्न जान्छ।’
उनले मल हाल्ने समयमा दैनिक २०-२५ जनासम्म श्रमिक लगाउने गरेको बताए। तर, खनजोतको काम आफैंले ट्याक्टरमार्फत् गर्छन्।
‘जोत्ने, मल छर्ने, बिरूवा रोप्ने, गोडमेल गर्ने उपकरण भित्र्याउन जरूरी छ,’ उनले भने, ‘त्यसले काम छिटोमात्रै हुँदैन, सस्तो पनि पर्छ।’
उनले केरा बगैंचा हेर्न मासिक १५ हजार दिएर एक जना चौकिदार राखेका छन्।
राज्यले कागजमा मात्रै कृषि गरेको देखाउनेलाई नभई वास्तविक किसानलाई लगानी गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘६० वटा कोपी लगाउनेलाई ६ लाख अनुदान दिनुभएन।’
त्यस्तै, उनले भारतबाट नेपाल भित्रने केराले नेपाली बजार प्रभावित भइरहेको बताए।
‘भारतमा किसानले राम्रो अनुदान पाउँछन्, खेतीमा प्रविधिको प्रयोग गर्छन्,’ भुसालले भने, ‘तर, नेपालमा किसानले अनुदान पाउनै सकस छ। सिँचाइको सुविधा छैन। मल, बिउविजन भनेको सयमा पाइँदैन। जसका कारण हामीलाई लगानी धेरै पर्न जान्छ र हाम्रो उत्पादन महंगो पर्न जान्छ।’
भारतबाट हारह्वार्ती भित्रिने हरेक सामानमा निगरानी गर्न जरूरी रहेको उनले बताए।