सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको सुरूआत भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त बजारको उद्घाटन गरेकी हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो।
नेपाल सरकार र युएनडिपीको सहकार्यमा बागमती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ।
केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामग्रीको बजारीकरण आजको आवश्यकता भएको बताइन्।
अहिले उत्पादनको समस्या नरहेको भन्दै मन्त्री अर्यालले उत्पादित सामग्रीको बजारीकरण प्रमुख चुनौतीको रूपमा रहेको बताइन्।
‘सहकारीमार्फत् उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो। यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो’, मन्त्री अर्यालले भनिन्, ‘सहकारीमार्फत् उत्पादित सामग्री सहकारीमार्फत् बजारीकरण गर्नका निम्ति यो कार्यक्रमको सञ्चालन गरिएको हो। यसलाई देशव्यापी बनाउन आवश्यक छ।’
उत्पादित सामग्रीहरूको बजारीकरण आजको आवश्यकता भएको भन्दै मन्त्री अर्यालले यसलाई अझ विस्तार गरिने बताइन्।
‘किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दूध लगायतका सामग्री बाटोमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’, उनले भनिन्, ‘किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगति हुँदैन। किसानहरूलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक छ।’
बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्था मुलुकमा अत्यधिक भएको भन्दै मन्त्री अर्यालले त्यसलाई मर्ज गर्ने अभियान सञ्चालन गरिएको र अब व्यवसायिकता, उत्पादनसँग जोडिएका सहकारीलाई जोड दिनुपर्ने बताइन्।