माइतीघरमा चार दिनदेखि आन्दोलनरत् उखु उत्पादक किसानहरू बुधबार हात-हातमा उखुको ढाँक बाेकेर आएका थिए। त्यहीँ भेटिए, सर्लाहीका सञ्जयकुमार राउत।
सरकारले गत वर्ष पुस १८ मा उखुको उधारो रकम उपलब्ध गराइदिनेबारे किसानसँग सम्झौता गरेको थियो। एक वर्ष बितिसक्दा पनि पूरा पैसा हात नपरेपछि यसपालि फेरि सञ्जय माइतीघरमा धर्ना दिन आइपुगेका हुन्।
'पोहोर सबै पैसा पाइन्छ भनेर घर फर्किएका थियौं। सरकारले भनेपछि पत्याउनै पर्यो। तर जम्मा एक लाख पाएँ,' सञ्जयले भने, 'पैसा पाइएला भनेर उद्योगलाई फेरि उखु दियौं। यसपालि पनि उस्तै पारा भयो।'
सञ्जयका अनुसार उनले मिलबाट ९ लाख २५ हजार रूपैयाँ लिनुछ। आमा–बा, दाजु-भाउजू र बालबच्चासहित ११ जनाको परिवार उखुबालीको आम्दानीमै आश्रित छ। पैसा आएपछि दिउँला भनेर मागेको ऋण नै ब्याजसहित ६ लाख पुगेको सञ्जय बताउँछन्।
'पोहोर बुवा बिरामी हुनुभयो। आफूसँग पैसा थिएन। आपतमा परेका बेला साहुले ३६ प्रतिशत ब्याजमा ऋण दिने भए,' उनी सुनाउँछन्, '३ लाख ऋण गरेर उपचार गरियो। बुवालाई निको भएन। थप उपचार गर्न पैसा छैन।'
यति मात्र होइन, बाली लगाउने बेला मल र बीउका लागि लिएको ऋणसम्म तिर्न सकेका छैनन् उनले।
'त्यो ऋण पनि उखु बेचेरै तिर्छु भनेर लिएको थिएँ। पैसा आइहाल्छ भनेर सबैतिरबाट ऋण उठाएँ। अब कसरी तिरौं!' उनी विकल्पहीन सुनिए।
३५ वर्षीय सञ्जयले बाबुबाजेकै पेसा सम्हालेका हुन्। आफ्नो बारीभरि गुलिया खानेकुरा हेर्दा उनको मन यसैमा भुलियो। अरू काममा ध्यान दिएनन्।
'पहिले घरैमा खुदो, मिठाइ बन्थ्यो। काम गर्न गाह्रो भए पनि नगद पैसा आउँथ्यो,' सञ्जय भन्छन्, 'पछि चिनी मिल खुल्यो। खेतबाटै उखुका ढाँक बिक्न थाले। किसानलाई पनि सुविधा आएजस्तो लाग्यो। झन् धेरै काम गर्न थाल्यौं। अहिले सुविधाले समस्यामा पार्यो।'
केही वर्ष राम्रै कारोबार गरे पनि चिनी मिलले विस्तारै व्यवहार फेर्दै गएको उनको भनाइ छ।
उनका अनुसार, २०७४ सालमा चिनी बेचेर मात्र भुक्तानी दिने प्रस्ताव विभिन्न मिलले ल्याएका थिए। बारीमा तयार उखु त्यसै राख्नभन्दा मिललाई दिनु ठीक ठानेर स्थानीय किसानले आनाकानी गरेनन्।
मिलको बदमासी भने बढ्दै गयो। ०७५ देखि त 'यसपालि उखु दिए मात्र पुरानो पैसा भुक्तानी दिने' अडान लिन थाल्यो।
'उखु नदिऊँ भने पुरानो पैसा नपाइने डर, दिऊँ भने पैसा आएकै छैन। झन् समस्या भयो,' सञ्जयले नगदे बालीको उधारो किस्सा सुनाए, 'पुरानो पैसा लिन भए पनि उधारोमा दिनुपर्ने बाध्यता आइलाग्यो। पोहोर सरकारले नै सम्झौता गरेपछि भने आस पलाएको थियो।'
पुरानो पैसा पाइने आसमा लगातार तीन वर्ष अन्नपूर्ण चिनी मिललाई उखु दिएको उनी बताउँछन्।
जिल्लामा धेरैले यस्तै नीति अपनाएका थिए। चिनी मिलले भने बारम्बार ठग्दै आयो।
यसबीच मिल सञ्चालकहरूले माइतीघरमा भेला भएकाहरू 'वास्तविक किसान होइनन्, बिचौलिया हुन्' भन्ने आरोप लगाएका छन्। एकातिर मिहिनेतको पैसा नपाइने, अर्कातिर बिचौलियाको आरोप खेप्नुपर्दा सञ्जय हतास छन्।
'हामी बिचौलिया हो भने किन दिएको यो कागज,' अन्नपूर्ण चिनी मिलले दिएको बिल देखाउँदै उनी भन्छन्, 'यसैका भरमा त हामी बोलिरहेका छौं। प्रमाण हुँदाहुँदै आरोप लगाउन खोज्ने मिलले कति बदमासी गरेको छ, अनुमान गर्नु न।'
काठमाडौंको बढ्दो चिसोमा जे-जस्तो समस्या आइपरे पनि यसपालि पुरानो पैसा नलिई उखु नदिने उनले ठानेका छन्।
'पुरानै ९ लाखभन्दा बढी लिनुछ। फेरि कसरी उधारोमा उखु दिऊँ? दुई महिना ढिलो भइसक्यो उखु काट्न। पुरानो पैसा नपाए बारीमै आगो लगाइदिन्छु, मिललाई दिन्नँ,' उनले अडिग भएर भने।
पैसा उठाउन नसक्दा सञ्जयलाई ऋणको भारले थिचेको छ। चाडपर्व मनाउन पाएका छैनन्। कमाइ भइहाल्छ भनेर दुई छोरालाई निजी स्कुल राखेका थिए, अहिले छुटाइसके। केटाकेटीको भविष्य नै धरापमा पर्न थालेपछि उखु खेती नै छाड्ने विचारमा पुगेको उनी बताउँछन्।
'आफ्नो बारी धेरै छैन। अँधियामा खेती गर्दा साहुलाई आधा बुझाउनुपर्छ। यता मिलले पैसा नदिने, उता साहुले हतार लगाउने,' उनी भन्छन्, 'अँधियाको पैसा तिर्न ढिला हुँदा साहुले खेत नै आधा गरिदियो। साहुको बारी मैले के भन्न सक्थेँ र! सकेको दुःख गरेकै हो।'
तीन वर्षअघि १२ बिघामा लगाएको बाली गत वर्ष आधामा झारेको उनी बताउँछन्। उखु मिलले घात गर्दा गाउँ समाज र साहुको नजरमा झूटो हुनुपरेको उनको गुनासो छ।
'उखुकै पैसा आउला भनेर लिएको ऋण तिर्न सकेको छैन, पैसाकै कारण घरमा झगडा परिरहन्छ,' उनी भन्छन्, 'यसपालि चार बिघामा मात्रै उखु छ। अहिले पनि पूरै पैसा पाइनँ भने बाली लगाउनै छोडिदिन्छु।'
कृषिप्रधान भनिएको देशमा किसान नै उपेक्षामा परेको महसुस गर्छन् सञ्जय। सिँचाइको समस्या, समयमा मल, बीउ नपाउनू त सामान्य भइसकेका छन्। पसिनाको मूल्य हातमा पर्नै मुश्किल भएपछि उनी थप चिन्तामा छन्।
भन्छन्, 'किसानले पसिनाको मोल पाउँदैन भने कसरी काम गर्न सक्छौं? चिनी मिल त बाहिर देखिएको मात्रै हो, हामीलाई त सरकारले पनि ठगिरहेको छ। सम्झौता गरेर पनि पूरा गर्दैन।'
यसपालि सञ्जय ५ हजार रूपैयाँ बोकेर काठमाडौं आएका छन्। धर्ना चर्किँदै छ। होटलमा बस्दा र खाँदा खल्ती पनि रित्तिँदै छ। तर उनी रित्तो हात लिएर घर फर्कने मनसायमा छैनन्।
'परिवारले आस गरेर बसेका छन्। महामारीले झन् कमजोर पारेको छ। रित्तो हात कसरी फर्किनू?' उनी भन्छन्, 'एक महिना आन्दोलन गर्न परोस्, तर यसपालि पैसा लिएर मात्रै गाउँ फर्कन्छौं। कि सरकारले पैसा दिलाइदिनुपर्यो, कि हाम्रो परिवारको जिम्मा लिनुपर्यो। नत्र किसान कसरी बाँच्ने!'