बंगलादेशबाट युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ। नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’ बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नेपाल सरकारले तीन महिनाअघि नै बंगलादेशबाट युरिया मल ल्याउने निर्णय गरे पनि बिहीबार मात्र औपचारिक सम्झौता भएको हो। सम्झौता अनुरुप बंगलादेशले अब नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने छ।
नेपालले जी–टु–जी (सरकार–सरकारबीच सम्झौता)मार्फत मल आपूर्ति गर्न लागेको हो।
बंगलादेशबाट नेपालले चार लटमा युरिया मल आयात गर्ने छ। सम्झौता भएको ३ महिनाभित्र मल नेपाल निर्यात गरिने छ। यो मल आयातसँगै नेपालमा रासायनिक मल अभाव समस्या तत्कालका लागि समाधान हुने कृषि मन्त्रालयको दाबी छ।
यो सिजनमा खेती गरिने बालीलाई आवश्यक पर्ने मल पर्याप्त रहेको मन्त्रालयले बताएको छ। मल अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति समेत तयार भइरहेको जनाएको छ।