लुम्बिनी चिनी उद्योगले माघ २ देखि किसानहरूको बाँकी रहेको उखुको मूल्य भुक्तानी दिने प्रतिबद्धता गरेको छ।
उद्योगका निर्देशक रमेश भट्टराईले आज प्रेश विज्ञप्ति जारी गर्दै कम्पनीले माघ २ देखि भुक्तानी गर्ने प्रतिबद्धता जनाएका हुन्।
उद्योगमा स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको र अहिले अदालत पुगेर उक्त विवाद मिलिसकेको उद्योगले जानकारी दिएको छ।
२०७४ सालमा उद्योगका तत्कालिन सञ्चालक मनिषकुमार अग्रवालको निधन भएको थियो। त्यसपछिको वर्ष अग्रवालकै पत्नी सुशीला गोयल अग्रवालले सञ्चालनको जिम्मा लिएकी थिइन्।
'त्यही वर्षको उत्पादनमा गिरावट आयो अर्कोतिर बजारमा विदेशी चिनीका कारण लागत मूल्यभन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता भयो। लामो समय चिनीको बिक्री भएन। पछि सस्तोमा बिक्री गर्नैपर्ने बाध्यता भयो। लगत्तै मिलको स्वामित्व विवाद भयो। त्यसपछि किसानको भुक्तानी पनि रोकिँदै आएको हो,' विज्ञप्तिमा उल्लेख गरिएको छ।
अहिले स्वामित्व विवाद अदालत पुगेर समाधान भएको र स्वामित्व मनोजकुमार अग्रवालको नाममा गएको उद्योगले जानकारी दिएको छ। यद्यपी अहिले पनि कानूनअनुसार उद्योगको सेयर तथा सम्पत्ति रोक्का फुकुवा हुने क्रम चलिरहेको कम्पनीले बताएको छ।
'शेयर हस्तान्तरणको प्रक्रिया रजिस्ट्रारको कार्यालयमा र बैकिङ्ग रोक्का फुकवा गर्ने कार्यहरु पनि भइरहेका छन्। यी काम हुनेवित्तिकै भुक्तानी सुरु हुने छ,' विज्ञप्तिमा भनिएको छ।
माघ २ अघि नै बैंकिङ फुकुवाको काम सकिए भुक्तानी सुरु गरिने उद्योगले प्रतिबद्धता जनाएको छ।
किसानहरुले भने लुम्बनी चिनी उद्योगसहित ६ उद्योगले भुक्तानी नदिएको भन्दै यो वर्ष पनि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। अघिल्लो वर्ष पनि आन्दोलन गरेका उनीहरुले यो वर्ष भने रकम हात नपरेसम्म काठमाडौं नछाड्ने अडान लिएका छन्।
किसानको रकम भुक्तानी गर्न नमान्ने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरिसकेको छ। मन्त्रालयको उक्त परिपत्रपछि स्थानीय प्रसाशनहरुले उद्योगी विरुद्ध पक्राउन पुर्जी जारी गरिसकेका छन्। पक्राउ पुर्जी जारी गरेपछि श्रीराम सुगर मिल्सले भोलिदेखि नै भुक्तानी दिने घोषणा गरेको छ।