घोराही उपमहानगरपालिका-११ बाँसजगेरीका ४५ वर्षीय ठाकुर रोकाले अन्नबाली लगाउने ठाउँमा एभोकाडो रोपेका छन्।
सुरूमा उनले त्यसो गरेको देख्दा गाउँलेले अचम्म माने।
धेरैले सोधे, 'मकै, तोरी फल्ने जग्गामा किन रूख रोपेको? अन्न फल्ने जग्गामा रूख रोप्ने तपाईं कस्तो उल्टो मान्छे?'
ठाकुरले केही जवाफ दिएनन्।
ठाकुरका मावली ससुराली खलक ब्रिटिश आर्मी हुन्। उनीहरूले बेलायतबाट एभोकाडो ल्याएर काठमाडौंमा रोपेका थिए। उनीहरूले नै दाङमा पनि फल्छ कि भनेर ठाकुरलाई सुझाए। एभोकाडो उच्च पोषण तत्वयुक्त फल हो र यसका धेरै फाइदा छन् भन्ने जानकारी पनि दिए।
जे होला हेरौंला भन्दै ठाकुरले एभोकाडो रोप्ने निधो गरे। मावली ससुरालीबाट पाएका तीन बोट दाङस्थित घरको करेसाबारीमा हुर्काए।
यो ७-८ वर्ष पहिलेको कुरा हो।
'फल नभए रूख त होला। नफले दाउरा भए पनि बालौंला भन्ने सोचेर रोपेको हुँ,' ठाकुरले भने, 'तर, दुई-अढाइ वर्षमै ती रूखले फल दिए। फल खाँदा स्वादिलो लाग्यो। अनि एभोकाडोबारे थप सोधीखोजी सुरू गरेँ।'
एभोकाडो फाइदा बुझेपछि आफ्नै लागि भए पनि चाहिने भन्दै उनी कस्सिए।
किन्दा महँगो पर्ने यो फल आफैं रोपेर मजाले खान पाइने सोचले एभोकाडो विस्तार र प्रचार-प्रसारमा लागेको उनी बताउँछन्, 'एभोकाडो रोप्छु, केही मिहिनेत गर्छु। ती प्रकृतिले नै फुलाउँछ, फलाउँछ।'
तीन बोटमा फल राम्रै लागेपछि उनी दंग परे। त्यसैको बिरुवाबाट घर नजिककै करेसाबारीभरि पूरै एभोकाडो रोपे। आज ती सबै बोटले फल दिन थालेका छन्। पाँच सय रूपैयाँ किलोमा बेचेर उनले यो वर्ष ६० हजारजति कमाए।
गत साल फागुन-चैततिर पटक-पटक भारी असिना पर्यो। त्यसले जिल्लाभर जताततै ठूलो नोक्सान गर्यो। असिना नआएको भए तीन लाख बढी आम्दानी हुने अनुमान ठाकुरको थियो।
यसपालि उनले घरमा खाएर बचेको मात्रै बेचेका हुन्। घर अगाडि करेसाबारीमा हुर्किसकेका एभोकाडोका ४५ वटै बोटमा फूल लाग्न सुरू भइसकेको छ। त्यसैले ठाकुर निकै खुसी र उत्साहित छन्।
'मेरो ५ कठ्ठा जग्गामा तोरी रोपेको भए बढीमा दस पाथी फल्थ्यो होला। मकै पनि त्यस्तै फल्दो हो,' ठाकुरले थपे, 'ती खाद्यान्न बेच्दा ५ हजार हुन्थेन। एभोकाडोबाट एकै सिजनमा ५० हजार कमाइ भयो।'
फलबाहेक उनले बिरूवा पनि बेच्छन्, एउटा बिरूवाको सय रूपैयाँ।
'यो वर्ष बिरूवा नै एक लाखजति बेचेँ,' ठाकुरले भने, 'अब अलि बढी कलमी बनाउने सोचेको छु। कलमीको एउटा बोट एक हजारमा बेच्छु।'
एभोकाडो शक्तिवर्द्धक फल हो। युरोपतिर बसेका र त्यसको महत्व बुझेकाले घरमै आएर फल किनेर लगेको उनी बताउँछन्। कोरोनाविरुद्ध लड्ने शक्ति प्राप्त हुन्छ भनेर पनि किन्नेहरू बढेको ठाकुरले बताए।
परम्परागत ढंगले गुजारामुखी खेतीपाती गरेर मात्रै किसानको उन्नति नहुने ठाकुरको बुझाइ छ। धान रोप्ने बेला मल, बिउ-बिजन नपाइने समस्या र राज्यले पनि सहयोग नगर्दा किसानको पसिनाले उचित मूल्य नपाउने उनी बताउँछन्।
एभोकाडो रोपे त्यति दुःख पर्दैन।
उनका अनुसार एभोकाडोमा अन्नबाली रोपेजति तनाव हुन्न। वर्षमा एक पटक गाई-भैंसीको मल, तोरीको पिना हाले पुग्छ। चैत-वैशाख खडेरीमा एक-दुई पटक पानी हाले हुन्छ।
करेसाबारीबाहेक ठाकुरले अन्य खेत र पाखो बारी गरी करिब एक बिगाहा जमिनमा एभोकाडो रोपेका छन्।
'सबै गरी अढाइ सयसम्म बोट छन्,' ठाकुरले भने, 'एक हजार एभोकाडो रोप्ने र वार्षिक २०-३० लाखको एभोकाडो बेच्ने सपना छ।'
पञ्चायतकालमै दाङमा एभोकाडो भित्रिएको जानकारहरू बताउँछन्। तर, यति लामो समय भइसक्दा दाङमा यसको व्यावसायिक विकास भएन। यसको महत्व नबुझ्नु र उचित प्रचार-प्रसार नुहुनुजस्ता कारणले दाङमा अझै यो गुमनामजस्तै छ।
'राजा वीरेन्द्रलाई पनि एभोकाडो मनपर्थ्यो। त्यही भएर नेपालमा एभोकाडोलाई शाही फ्रुट पनि भनिन्छ,' ठाकुर भन्छन्, 'राजा वीरेन्द्रसँगको सम्पर्कका कारण दाङ तुलसीपुरको डाँडापातुका देवबहादुर केसीले पञ्चायतकालमै एभोकाडो ल्याएर घरमै रोपेका रहेछन्।'
ठाकुरका अनुसार अहिले पनि देवबहादुरको घरमा एभोकाडोको ठूलो रुख छ। देवबहादुरले त्यो फल खाए पनि अरूलाई महत्व बुझाउनतिर लागेनन्। त्यसैले दाङमा अरू व्यक्तिकहाँ एभोकाडो पुग्न सकेन।
तुलसीपुरकै रक्षाचौरस्थित आँखा अस्पतालमा पनि एभोकाडोको ठूलो रुख छ। त्यो रुख कम्तीमा पनि २० वर्षअगाडि रोपिएको अनुमान ठाकुर गर्छन्।
'त्यो आज पनि लटरम्म फलिरहेको छ। दुर्भाग्य, फल कसैले खाँदैनन्। चराचुरुंगी र स्यालले खाँदा रहेछन्,' ठाकुरले भने, 'महत्व नबुझेर रहेछ। मैले बताइदिएपछि बल्ल गत वर्षदेखि त्यहाँका कर्मचारीले खान थालेका छन्।'
आँखा अस्पताल स्थापना गर्ने एक जना नर्वेका अभियन्ताले रक्षाचौरमा अस्पतालको प्रांगणमा एभोकाडो रोपेका थिए। रोपेर उनी गए। त्यसको महत्व समाजमा बुझाउन नपाउँदै उनको मृत्यु भयो।
एभोकाडो आँखाका बिरामीका लागि पनि उतिकै लाभदायिक मानिने भएकाले ती अभियन्ताले अस्पतालमै रोपेको अनुमान ठाकुरको छ।
अब भने विस्तारै एभोकाडोको महत्व मान्छेले बुझ्दै गएका देखेर ठाकुर खुसी छन्।
ठाकुरले रोपेको एउटै बोटमा ५०-६० किलोसम्म फल लागेको छ। अलि साना रुखमा २०–३० केजीसम्म।
'एउटा परिपक्व रुखले ८ वर्षदेखि २० वर्षमा ४०० केजीसम्म फल दिन्छ,' आफूले अध्ययनका आधारमा थाहा पाएको उनी बताउँछन्।
बिउबाट उत्पादित रुखले ६० देखि १०० वर्षसम्म र कलमीले ४० देखि ५० वर्षसम्म फल दिने उनले जानकारी दिए। राम्रो स्याहार र गोडमेल पाए रोपेको ३ देखि ५ वर्षमा फल दिन सुरू गर्छ। समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइसम्म फल्ने उष्ण प्रदेशीय एभोकाडोको रुख २० फिटसम्म अग्लो हुन्छ।
सबभन्दा धेरै एभोकाडोको व्यावसायिक खेती धनकुटामा हुन्छ। त्यहाँका लाहुरेले विदेशबाट ल्याएर एभोकाडो रोप्न थालेका थिए। अचेल धनकुटाले आफूलाई एभोकाडोको 'राजधानी' बनाउने अभियान नै सुरू गरेको छ।
अहिले पनि वार्षिक करोडौंको एभोकाडो नेपालमा बाहिरी मुलुकबाट आयात हुन्छ। नेपालमै यसको व्यावसायिक खेती गर्न सके मनग्य लाभ लिन सकिने सम्भावना ठाकुर देख्छन्।