लुम्बिनी चिनी उद्योगले आइतबारदेखि किसानहरूको बाँकी रहेको उखुको मूल्य भुक्तानी दिन सुरु गरेकाे जानकारी दिएकाे छ। उद्योगले एक सूचना जारी गर्दै किसानहरुको खातामा आइतबार देखि रकम जम्मा गर्न सुरु गरेको जानकारी दिएको हो।
स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको र अहिले अदालत पुगेर उक्त विवाद मिलिसकेको उद्योगले बताएको छ।
२०७४ सालमा उद्योगका तत्कालिन सञ्चालक मनिषकुमार अग्रवालको निधन भएको थियो। त्यसपछिको वर्ष अग्रवालकै पत्नी सुशीला गोयल अग्रवालले सञ्चालनको जिम्मा लिएकी थिइन्।
अहिले स्वामित्व विवाद अदालत पुगेर समाधान भएको र स्वामित्व मनोजकुमार अग्रवालको नाममा गएको उद्योगले जानकारी दिएको छ।
यसअघि उद्योगले माघ २ देखि भुक्तानी दिन सुरु गर्ने भनेको थियो।
किसानहरु भने लुम्बनी चिनी उद्योगसहित ६ उद्योगले भुक्तानी नदिएको भन्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। अघिल्लो वर्ष पनि आन्दोलन गरेका उनीहरुले यो वर्ष रकम हात नपरेसम्म काठमाडौं नछाड्ने अडान लिएका छन्।